‘परान’सँग भिड्न आइपुग्यो ‘जारी २’

काठमाडौं । चलचित्र ‘जारी २’ सरेर अर्को सिनेमा ‘परान’सँग भिड्न आइपुगेको छ । असोज ३ बाट सरेर कात्तिक १४ मा आइपुग्दा ‘जारी २’ ‘परान’सँग बक्सअफिसमा भिड्न आइपुगेको हो ।
अब यी दुई चलचित्र आमनेसामने हुने भएका छन् । जेन्जीको आन्दोलनका कारण ‘जारी २’ पूर्वनिर्धारित समयमा रिलिज नभएर अर्को मिति खोज्दै कात्तिक १४ मा पुगेको हो ।
‘परान’मा उद्योगपति शेखर गोल्छाको लगानी छ । ‘परान’लाई चर्चित टेलिभिजन श्रृंखला ‘सक्किगोनि’का लोकप्रिय कलाकार दीपकप्रसाद आचार्य ‘काकु’ले निर्देशन गरेका छन् ।
उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखरले लगानी गरेको यो चलचित्र बायस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको छ । चलचित्रले बाबु–छोराको सम्बन्धको संवेदनशील कथा प्रस्तुत गर्नेछ । आचार्यले यो सिनेमाबाट निर्देशनमा डेब्यु गरेका छन् । चलचित्रको कथा उनैले नै लेखेका हुन् ।
चलचित्र निर्माणमा उनलाई प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जीत आचार्यले सघाएका छन् ।
‘परान’को प्रमुख भूमिकामा बरिष्ठ कलाकार नीर शाह छन् । शाहसँगै मदनकृष्ण श्रेष्ठ, सुभाष गजुरेल, पूजा चन्द, अञ्जना बराइली, केकी अधिकारी, प्रविण खतिवडा, महेश त्रिपाठी, बुद्धी तामाङ, यमन श्रेष्ठ, बबिन राई र बाल कलाकार आर्यदीप आचार्य (निर्देशकका कान्छा छोरा) छन् ।
शिवराम श्रेष्ठको छायाकंन रहेको चलचित्रमा मित्र देव गुरुङको सम्पादन र सुप्रिम पराजुलीको रङ संयोजन रहनेछ ।
‘जारी २’लाई कवि तथा निर्देशक उपेन्द्र सुब्बाले निर्देशन गरेका छन् । चलचित्र ‘जारी २’ मा प्रमुख भूमिकामा रहेका दयाहाङ राई र मिरुना मगर छन् ।
‘जारी’ ले नेपाली बक्स अफिसमा १७ करोडभन्दा बढीको व्यापार गरेको थियो । त्यसकै सफलताको निरन्तरता स्वरूप निर्माण भएको ‘जारी २’को कथा पनि उपेन्द्र सुब्बाकै लेखन रहेको छ ।
‘जारी २’ कवि सुब्बा र निर्देशक–निर्माता रामबाबु गुरुङको पुनः सहकार्यमा निर्माण भएको चलचित्र हो । ‘जारी’को सफलतापछि उनीहरू पुनः दोस्रो भाग लिएर आएका हुन् ।
यो चलचित्रको स्लोगन ‘सङ्ग अफ च्याब्रुङ’ राखिएको छ । च्याब्रुङ नेपालको पूर्वी पहाडमा बसोबास गर्ने लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्मस्को व्यानरमा बनेको चलचित्रमा दयाहाङ र मिरुनासँगै विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।