आजबाट सञ्चालनमा आए सिनेमा हल, यी चलचित्र आए पुनः प्रदर्शनमा

काठमाडौं । जेनजी पुस्ताको आन्दोलनका कारण बन्द भएका सिनेमा हल आजबाट सञ्चालनमा आएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण बन्द रहेका देशभरका १६४ सिनेमा हल आजदेखि सञ्चालनमा आएका हुन् ।
आइतबार बसेको चलचित्र संघको बैठकले आजबाट सिनेमा हल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
हल बन्द भएसँगै प्रदर्शन रोकिएका ‘गुन्यु चोलो’, ‘कोशेढुङ्गा’, ‘रिमै’, ‘माग्ने राजा’, ‘मोहर’,‘जनै हराएको मान्छे’लगायत चलचित्र प्रदर्शनमा आउने भएका हुन् । यी सिनेमा प्रदर्शन भइरहेका बेला सिनेमा हल बन्द भएपछि रोकिएका थिए ।
जेनजीको तोडफोड र आगजानीबाट ध्वस्त भएका बाहेकका १६४ वटा सिनेमा हल आजबाट खुला भएका संघले जनाएको छ ।
संघले आगजनी र तोडफोडबाट पाँचवटा हलमा करिब १७ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।
राति १० बजेभित्र सिनेमा हल बन्द भइसक्ने छन् ।