दोहोरो तनावमा दयाहाङ, विजय र मिरुना

काठमाडौं । एउटै कलाकारका दुई फिल्म एकै दिन रिलिज हुने क्रम नेपाली सिनेक्षेत्रका लागि नौलो रहेन । पछिल्लो समय यस्तो घटना पटक–पटक देखिँदै आएको छ । अभिनेता दयाहाङ राईले त यस किसिमको अनुभव दुई–दुई पटक भोगिसकेका छन् ।

तर, यसपटकको तिहारमा अभिनेता दयाहाङ र अर्का अभिनेता विजय बरालका लागि यो अनुभव विशेष बन्दैछ । भाइटीका अर्थात् कात्तिक ६ गते उनीहरू अभिनित दुई ठूला सिनेमा ‘वरिष्ठ बलराम’ र ‘जारी २’ एकसाथ प्रदर्शनमा आउँदैछन् ।

दयाहाङका लागि यो तेस्रो पटक हो, जब उनका दुई फिल्म एकै दिन प्रतिस्पर्धामा उत्रँदैछन् । यसअघि २०७९ वैशाख १ गते चलचित्र ‘जारी’ र ‘बिहे पास’, तथा माघ २६ गते ‘हात्तीछाप’ र ‘दयारानी’ एकै दिन रिलिज भएका थिए । प्रायजसो यस्तो अवस्थामा एउटा फिल्मले मात्र सफलता हात पार्ने गरेको विगतका अनुभवले देखाउँछ ।

यो अनुभव अभिनेत्री बेनिशा हमालको ‘मोहर’ र ‘सिटामोल’को हकमा पनि भयो । जसमा ‘मोहर’ले बाजी मार्‍यो ।

अभिनेता तथा गायक प्रकाश सपूतले पनि असोज १३ गते दसैंको फूलपातीमा रिलिज हुन लागेका दुई चलचित्र ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ मार्फत यस्तै अनुभव लिने तयारी गर्दैछन् ।

अब भने दयाहाङ राई र विजय बराल आफैंले अभिनय गरेका दुई सिनेमा एकैदिन प्रत्यक्ष आमनेसामने आउन लागेका छन् । कात्तिक ६ गते ‘वरिष्ठ बलराम’ र ‘जारी २’ दुवै चलचित्र प्रदर्शनमा आउँदैछन् । रोचक पक्ष भनेको दुवै सिनेमामा उनीहरु नै मुख्य भूमिकामा छन् ।

‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको सिनेमा हो । पौडेलकै कथा र सम्पादन रहेको यस चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।

यसमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई र प्रदीप कुमार चौधरीको मुख्य भूमिका रहेको छ ।

वृषभ सिद्धि इन्टरटेन्मेन्ट र आन्भी फिल्मसको संयुक्त प्रस्तुति रहेको यस चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्मातामा छन् भने प्रदीप जि धामी र पुस्कर बि घिमिरे कार्यकारी निर्माता हुन् ।

‘जारी २’ उपेन्द्र सुब्बाको निर्देशन र लेखनमा बनेको हो । बाँसुरी फिल्मस् र कबड्डी फिल्मस् ब्यानरमा निर्माण भएको यस सिनेमाका निर्मातामा रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ रहेका छन् ।

‘जारी २’मा दयाहाङ र विजयसँगै मिरुना मगर, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावतीलगायत कलाकारको अभिनय रहेको छ ।

कात्तिक ६ गते अर्को चलचित्र ‘सोल्टिनी’ पनि प्रदर्शनमा आउँदैछ । एक दिनको फरकमा कात्तिक ७ गते कलाकार विल्सन विक्रम राईको निर्देशनमा बनेको ‘मैझारो’ रिलिजमा आउँदैछ।

‘मैझारो’मा दयाहाङ राईले विशेष भूमिका निर्वाह गरेका छन् भने अभिनेत्री मिरुना प्रमुख भूमिकामा छिन् ।

यसरी एकै मितिमा यी चलचित्रहरु रिलिज हुने हुँदा कलाकारलाई प्रचार प्रसारमा ठूलो असहज हुने देखिन्छ । मुख्य भूमिकामा देखिने भएका कारण उनीहरूका लागि यो पल ‘दोहोरो तनाव’ बनेको छ । दर्शकको ध्यान पनि विभाजित हुने भएकाले बक्स अफिसमा कसले बढी सफलता पाउने भन्ने जिज्ञासा फिल्म क्षेत्रभित्र निकै चर्किएको छ । अघिल्ला अनुभव हेर्दा एउटै दिन आएका दयाहाङका दुई मध्ये एउटा मात्र सफल बन्ने गरेको छ । बेनिशाको हकमा पनि ‘मोहर’ले मात्रै प्रभाव जमाउन सक्यो ।

यस पटक ‘वरिष्ठ बलराम’ र ‘जारी २’ र ‘सोल्टिनी’को भिडन्तसँगै ‘मैझारो’ पनि प्रतिस्पर्धामा आउने भएपछि तिहारको बजारमा ठूलो हलचल मच्चिने निश्चित छ । दुई लोकप्रिय अभिनेता दयाहाङ र विजयसँगै मिरुनालाई रिलिज हुने दुई फरक फिल्मका कारण ‘दोहोरो तनाव’मा छन् ।

यसैले दर्शक र चलचित्र क्षेत्र अहिले चासोका साथ हेर्दैछन्, मुख्य भूमिकामा रहेका यी अभिनेताका दुई सिनेमा एकैदिन रिलिज हुँदा कुन अगाडि आउँछ ? यसको परिणाम हेर्न भने अब तिहारसम्म पर्खनु पर्नेछ ।