सत्र वर्षपछि पुरा भएकाे कामेश्वरकाे सपना

काठमाडौं । अभिनेता कामेश्वर चौरसिया सत्र वर्षकाे प्रतीक्षापछि भूमिका मुख्य भूमिकामा अभिनेता देखिँदै छन् । दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर पर्साबाट काठमाडौं आएका चौरसियाले मुख्य भूमिकामा काम गर्न सत्र वर्षकाे प्रतीक्षा गर्नुपर्‍यो ।

असोज १३ गते अर्थात् फूलपातीमा प्रदर्शन हुने चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उनलाई पहिलोपटक मुख्य भूमिकामा देख्न पाइन्छ ।

अभिनेता चौरसिया मुख्य भूमिकाकाे प्रतीक्षा गररहेको र यसकाे लागि धेरै मेहनत गरेको बताउँछन् । “मधेसको कथामा चलचित्र तयार भएकाले पनि निर्माण पक्षको रोजाइमा म परेँ, तर मैले यसका लागि गरेको सङ्घर्षको फल पाउने बेला हो । मैले आफूले सक्ने कोसिस गरेर पात्रलाई जीवन्त बनाएको छु” उनी भन्छन् ।

विसं २०७२ को वैशाखमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मा ‘हरिया’ बनेपछि उनको चर्चा भएकाे थियाे । त्यसताका चलचित्र प्रदर्शन भएको दोस्रो दिनमा नै भूकम्प आएपछि प्रदर्शन रोकियो । बनिसकेको माहोल बिथोलियो । त्यसपछि पुनः चलचित्र प्रदर्शन भयो, तर उनले सोचेजस्तो चर्चा हुन सकेन, तर त्यसबाट उनको अभिनय कलाबारे धेरैले थाहा पाए ।

चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उनले परिवारको सुरक्षा र जिम्मेवारी बहन गर्ने पात्रको भूमिका निर्वाह गरेका छन् । मधेसको पृष्ठभूमिमा आधारित यो चलचित्रमा किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतले अभिनय गरेका छन् । चलचित्रमा मुकेस खनालको लेखन, सुशान्त गौतमको निर्देशन, शरद् महतोको छायाङ्कन र मदन घिमिरेको सम्पादन रहेको छ ।