‘परान’को फर्स्टलुक सार्वजनिक, महेश र अञ्जनाको जोडीसँगै देखियो भावनात्मक कथानकको संकेत

काठमाडौं । कात्तिक १४ गतेदेखि प्रदर्शनमा आउने चलचित्र ‘परान’ को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

दीपकप्रसाद आचार्य (काकु) निर्देशित चलचित्रको पोस्टरमा अभिनेता महेश त्रिपाठी र अभिनेत्री अञ्जना बराईलीलाई देखाइएको छ ।

पोस्टरमा दुवै एकअर्काको अंगालोमा छन् भने अञ्जनाको सिउँदोमा देखिएको सिन्दुरले उनीहरूलाई विवाहित जोडीको रूपमा प्रस्तुत गरेको संकेत गर्छ । महेशको गम्भीर भाव र अञ्जनाको शान्त मुद्राले चलचित्रमा भावनात्मक उतारचढाव रहने सम्भावना देखाउँछ ।

चलचित्रको ट्यागलाइन ‘सासले हैन, साथले चल्ने’ राखिएको छ, जसले कथाले जीवनमा भौतिक अस्तित्वभन्दा सम्बन्ध र साथको महत्वलाई केन्द्रमा राख्ने संकेत गर्छ ।

गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापित बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा बनेको यो पहिलो प्रोजेक्ट हो । प्रबन्ध निर्देशक रन्जीत आचार्यका अनुसार ‘परान’लाई ठूलो तयारीसहित प्रस्तुत गर्न लागिएको हो ।

चलचित्रमा महेश र अञ्जनासहित नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, पूजा चन्द, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई तथा बाल कलाकार आर्यादीप आचार्यको अभिनय रहनेछ।

चलचित्रको कथा निर्देशक आचार्यकै हो भने पटकथा तथा संवाद यम थापाले तयार पारेका छन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन, मित्र डि. गुरुङको सम्पादन, रिदम कंडेलको रहेको संगीत, प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको छ ।

निर्देशक आचार्यका अनुसार चलचित्र ‘परान’ को पोस्ट प्रोडक्सन अन्तिम चरणमा पुगेको छ र अब प्रचार–प्रसारलाई तीव्रता दिइने बताए । उनले भने, ‘अहिलेसम्म फिल्मलाई कसरी हुन्छ राम्रो बनाउनमै ध्यान दियौं । पोस्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब तीव्र रूपमा प्रचारप्रसारमा लाग्छौं ।’