‘सोल्टिनी’को टिजरमा प्रेम, यथार्थ र विद्रोह

काठमाडौं । अभिनेता प्रकाश सपूत र अभिनेत्री परीक्षा लिम्बुको मुख्य भूमिका रहेको चलचित्र ‘सोल्टिनी’को टिजर सार्वजनिक गरिएको छ ।
आउँदो कार्तिक ६ गते भाइटिकाको दिन रिलिज हुन लागेको चलचित्रको निर्माणपक्षले बिहीबार सार्वजनिक गरेको टिजरमा प्रकाश र परीक्षाबीचको प्रेम, समाजको कठोर यथार्थ र साहसी निर्णयलाई देखाइएको छ ।
अर्जुन सुवेदीले निर्देशन गरेको चलचित्रको टिजरले ग्रामीण जीवनशैली, सामाजिक संघर्ष र भावनात्मक प्रेमकथालाई दृश्यात्मक रुपमा प्रस्तुत गरेको छ ।
प्लानेट थ्री फिल्म्सको प्रस्तुति तथा नेपसिनेको र योलो इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रमा प्रकाश र परीक्षासँगै विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडालगायत कलाकारको अभिनय रहेको छ ।
यस चलचित्रको कार्यकारी निर्माताको जिम्मेवारीमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम’ले रहेको छ, जसको नेतृत्व धरानका मेयर हर्क साम्पाङले गरेका छन् ।
इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थलमा छायाङ्कन गरिएको चलचित्रले समाजमा व्याप्त अमानवीयता र जातीय विभेदविरुद्ध सशक्त सन्देश दिने दाबी निर्देशक सुवेदीको छ ।
निर्देशक सुवेदीको कथा पटकथा र कुमार भट्टराईको लेखनमा तयार भएको चलचित्रको मुख्य आकर्षण भनेकै दुई पात्रबीचको गहिरो प्रेमकथा रहेको उल्लेख गरिएको छ ।
चलचित्रका गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ भने छायाङ्कन सुशन प्रजापतिले गरेका हुन् ।
रेजिना बिस्ट र संसार चौलागाईँ निर्माता रहेको चलचित्रमा रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सह–निर्मातामा छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका छन् ।
यस चलचित्रलाई नेपालभर टि फल्क्स फिल्म्सले वितरण गर्नेछ ।