निर्माताको आँखामा सधैँ सिनेमा हल किन बदमास ? आरोप छ– आफ्नो बारीको भन्दा पारीको प्यारो

काठमाडौं । बिहीबार चलचित्र ‘कोशेढुङ्गा’का निर्देशक सरोज पौडेलले फेसबुकमा लेखे– विदेशी फिल्मले हावा खाएपछि बल्ल हलले नेपाली फिल्मलाई ठाउँ दिनेरहेछ । आफ्नो बारीको भन्दा पारीको प्यारो ।’
उनको यो झटारो सिधासिधै छ, नेपाली सिनेमा हलका मालिकलाई हो । नेपाली चलचित्रलाई शो बाँडफाँडमा कम दिने हिन्दी र अंग्रेजीलाई बढी दिने गरेको उनको आरोप हो ।
भदौ १२ गते रिलिज भएको उनको ‘कोशेढुंगा’ केही हलबाट उत्रिसकेको छ । केहीमा भने प्रदर्शनरत छ । क्यूएफएक्स चेनबाट यो चलचित्र उत्रिसकेको छ । त्यसैले उनको यो झटारो क्यूएफएक्सलक्षित रहेको अनुमान लगाउन सकिन्छ ।
सरोज बक्सअफिसमा ऐतिहासिक कमाइ गर्ने चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का लेखक तथा निर्देशक हुन् ।
केही दिनअगाडि चलचित्र ‘अभिमन्यु’का निर्माता विनोद पौडेलले पनि फेसबुकमार्फत नै सिनेमा हलका सञ्चालकप्रति असन्तुष्टि जनाएको थिए । उनले आफ्नो चलचित्र ‘अभिमन्यु’लाई क्यूएफएक्सले दशैँमा आउनबाट रोक्न खोजेको आरोप लगाएका थिए ।
क्यूएफएक्सले अरु ठूला तीनवटा चलचित्र रहेको भन्दै अर्को मितिमा आउन भनेको निर्माता पौडेलले बताएका थिए । फूलपातीमा तीनवटा ठूलो सिनेमा छ, तपाईंको चलचित्रलाई शो दिन सकिँदैन अर्कै डेटमा लगाउनुस् भनेर अभिमन्युलाई कमिङ सुनमा पनि लिस्टिङ गर्न सक्दैनौँ भनेर सिधै भनेको उनले बताएका तिए । हलहरूले निर्मातालाई हेप्ने गरेको उनको गुनासो थियो ।
“सिनेमा ठूलो सानो चलेपछि नै थाहा हुने कुरा होला नि !” उनले फेसबुकमा लेखेका थिए, “नचलिकन यसो भन्दा कति हेपिएको महसुस हुन्छ त्यो अभिमन्यु टिमलाई राम्रोसँग थाहा छ । वितरक र सिनेमाघरलाई म अझै भन्छु, नेपाली सिनेमालाई विश्वास गर्नुस् ।”
यी दुईवटा पछिल्ला उदाहरण मात्रै हुन्, यस्ता थुप्रै निर्माता छन्, जो बेलाबेलामा सिनेमा हलको व्यवाहारप्रति चर्को असन्तुष्टि जनाउँदै सिनेमा नै उतार्छन् ।
विदेशी सिनेमा आउने भएपछि त्यो डेटमा नेपाली चलचित्रलाई सकेसम्म आउन नदिने र दिए पनि थोरै शोमा खुम्च्याइदिने गरेको उनीहरूको आरोप छ ।
विदेशी सिनेमालाई काखी च्यापेर नेपाली फिल्मलाई पाखा लगाएको भन्दै आफ्नो प्रदर्शन भइरहेको चलचित्र हलबाट उतारेका थुप्रै उदाहरण छन् ।
दुई वर्ष अगाडि निर्देशक सुवर्ण थापाले नेपाली फिल्मले शो कम पाएको, प्राइम टाइममा शो नदिएको, नेपाली फिल्मलाई दर्शक नै हलसम्म नआउने समयमा शो दिएर खुम्चाइदिएको भन्दै आफ्नो चलचित्र ‘राधा’ हलबाट उतारेका थिए ।
गत वर्ष निर्देशक बस्नेतले पनि यही असन्तुष्टि जनाउँदै आफ्नो चलचित्र ‘बेहुली फ्रम मेघौली’ हलबाट उतारेका थिए ।
हलले शो वितरणमा विभेद गरेको भन्दै असन्तुष्ट उनले फिल्म उतारेका थिए ।
“हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरैधेरै धन्यवाद,” निश्चलले फेसबुकमा लेखेका थिए, निश्चलले व्यंग्य गर्दै अगाडि फेसबुकमा लेखेका थिए, “सम्मानजनक शो उपलब्ध गराउनुभएकोमा क्यूएफएक्सलाई पनि धेरै धेरै धन्यवाद । हाम्रो फिल्म नेपालको सबै हलबाट हामी नलगाउने निर्णय गरेका छौँ ।”
निश्चलले हलबाट उतारेर चलचित्र ओटीटी प्लेटफर्मममा लगाएका थिए । यस्ता धेरै चलचित्र र निर्माता तथा निर्देशक छन्, जसले सिनेमा हलको शो बाँडफाँडबारे बोलेका छन् ।
तर, सिनेमा हल सञ्चालकले भने चलचित्रको इन्क्वाइरी, सिनेमाबारे प्राप्त जानकारी, स्टारकास्ट, मेकरको विगत लगायतलाई हेरेर शो उपलब्ध गराउने गरेको बताउँदै आएका छन् ।
सिनेमा घरका लागि चलचित्र व्यापार पनि भएकाले दर्शकको माग र चापका आधारमा शो दिने र जुन चलचित्रमा दर्शक धेरै देखिन्छन्, त्यसलाई शो थप्दै जाने गरेको बताउँदै आएका उनीहरूले बताउने गरेका छन् ।
यता, नेपाली सिनेमाका निर्माता र निर्देशक भने प्रदर्शक आफैँ विदेशी सिनेमा किनेर ल्याउने र वितरण गर्ने भएकाले नेपाली सिनेमालाई उपेक्षा गर्ने गरेको आरोप लगाउँदै आएका छन् । प्रदर्शक र वितरकले नै विदेशी सिनेमा किनेर ल्याउने भएकाले उनीहरूको प्राथमिकतामा नेपाली चलचित्र नपर्ने गरेको उनीहरूको गुनासो छ ।