चर्चित गायक जुबीन गर्गको निधन, दुई दिन अघि गरेको पोस्ट भाइरल

काठमाडौं । चर्चित भारतीय गायक जुबीन गर्गको सिंगापुरमा निधन भएको छ ।

५२ वर्षीय गायकको स्कुबा डाइभिङ गर्दा दुर्घटनामा परेपछि उपचारको क्रममा निधन भएको मिडिया रिपोर्टमा उल्लेख छ ।

जुबीनलाई स्कुबा डाइभिङ गर्दा श्वासप्रश्वासमा समस्या भएको थियो । गार्डहरूले समुद्रबाट उद्धार गरेर अस्पताल पुर्‍याएका थिए, जहाँ उनको निधन भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

गायक जुबीन उत्तर पूर्व महोत्सवमा भाग लिन सिंगापुरमा थिए, जहाँ उनले सेप्टेम्बर २० मा प्रस्तुति दिने कार्यक्रम थियो । तीन दिने महोत्सव सेप्टेम्बर १९, शुक्रबारबाट सुरु हुने तालिका थियो र जुबीनले सेप्टेम्बर २० मा प्रस्तुति दिने तालिका थियो ।

जुबीनले २००६ को फिल्म ‘ग्याङ्स्टर’ को ‘या अली’ गीत गाए, जसले उनलाई लोकप्रियताको शिखरमा पुर्याएको थियो । उनले २००२ को फिल्म काँटे को ‘जाने क्या होगा रामा रे’ गीत पनि गाएका थिए । उनले फिल्म नमस्ते लन्डनको ‘दिलरुबा”, ‘दिल तू ही बता’, ‘मायाबिनी रातिर बुकेत’ जस्ता चर्चित गीत पनि गाएका थिए ।

मेरा धेरै चर्चित गीत मैले नशामा गाएको हुँ

जुबीनका अनुसार उनले २२ वर्षको उमेरबाट मदिरा पिउन सुरू गरेका थिए ।

स्टेजमा गीत गाउँदा मदिरा पिएको भिडियोबारे सोध्दा उनले भनेका थिए, ‘दुई वर्षअघि म यसकै कारण बिरामी परेँ । म यो कुलत छोड्ने प्रयासमा छु । मैले सन् १९९५ मा २२ वर्षको हुँदा पिउन सुरू गरेँ । कहिलेकाहीँ पश्चाताप हुन्छ, तर मेरा धेरै चर्चित गीत मैले नशामा गाएको हुँ ।’

जुबीन आफूलाई म्यानचेस्टर युनाइटेडका खेलाडी जर्ज बेष्टसँग तुलना गर्थे र भन्थे, ‘उनी सधैं नशामा हुन्थे, तर गोल गर्थे । उनी उत्कृष्ट खेलाडी थिए, तर आत्मसम्मानका कारण इंग्ल्यान्डका लागि खेलेनन् ।’

जुबीन गर्गले दुई दिन अघि गरेको पोस्ट भाइरल

गायक जुबीनको अन्तिम इन्स्टाग्राम पोस्ट अहिले भाइरल भइरहेको छ, जसमा उनी आफ्ना फ्यानहरूलाई विशेष सन्देश दिइरहेको देखिन्छ ।

आफ्नो मृत्यु हुनुभन्दा दुई दिन अगाडि जुबीन लेआफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा भिडियो पोस्ट गरेका थिए । त्यसमा उनले आफ्ना फ्यानहरूलाई सिंगापुरमा चौथो उत्तरपूर्वी भारत महोत्सवमा आमन्त्रित गरेका थिए ।

भिडियोमा, उनले यसो भन्दै गरेको सुन्न सकिन्छ, “नमस्ते, सिंगापुरका मेरा साथीहरू, म भोलि सिंगापुर आउँदैछु, र हामी उत्तरपूर्वी महोत्सव नामक कार्यक्रम आयोजना गर्दैछौं। म बलिउड र असम उत्तरपूर्वीबाट जुबीन गर्ग हुँ । म तपाईंहरूसँग सामेल हुन आउँदैछु, र म तपाईंहरू सबैलाई यो सांस्कृतिक कार्यक्रममा सामेल हुन आमन्त्रित गर्दछु । यो पूर्वोत्तरको परम्परागत कार्यक्रम हो। हामी यसलाई विभिन्न ठाउँहरूमा आयोजना गर्छौं, र यस पटक हामी यो सिंगापुरको सनटेक सिटीमा गर्दैछौं । सबैलाई आमन्त्रित गरिएको छ । त्यहाँ भेटौंला । म त्यहाँ प्रस्तुति दिनेछु, तपाईंहरूसँग कुरा गर्नेछु र तपाईंहरूसँग हुनेछु । धन्यवाद र माया, सिंगापुर ।”

जुबीनले सेप्टेम्बर २० को साँझमा आफ्ना लोकप्रिय हिन्दी, बंगाली र असमिया गीतहरू प्रस्तुत गर्ने पनि बताएका थिए । तर, गायकले सेप्टेम्बर १९ मा यस संसारबाट सधैंको लागि बिदा लिए ।

जुबीनको अचानक निधनले उनका प्रशंसकहरू र सम्पूर्ण आसामी समुदायलको लागि गहिरो दुःखद क्षण बनेको छ ।