सार्वजनिक भएको केही घण्टामै युट्युब ट्रेन्डिङमा ‘बलिदान’को ट्रेलर
काठमाडौं । चलचित्र ‘बलिदान’को ट्रेलरले युट्युबमा सार्वजनिक भएको केही घण्टामै नेपालको युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा पुगेको छ ।
धेरै समयदेखि चर्चामा रहेको चलचित्र ‘बलिदान’को ट्रेलर शुक्रवार सार्वजनिक भएसँगै दर्शकमाझ यसले थप उत्सुकता जागेको छ । ट्रेलरमा समावेश शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतिले धेरै दर्शकको मन जितेको देखिन्छ ।
विशेष गरी, समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतार र अभिनयले ट्रेलरलाई आकर्षक बनाएको छ । ट्रेलरको भावनात्मक सुरुवातदेखि समीर भट्टको शक्तिशाली संवाद र एक्सनले दर्शकलाई बाँधेर राख्छ ।
यसमा सौगात मल्ल र समीरबीचको द्वन्द्व अनि अन्य पात्रहरूको प्रस्तुतिले चलचित्रको कथावस्तु झन् रोमाञ्चक हुने देखाएको छ ।
चलचित्रका निर्देशक सन्तोष सेनले ‘बलिदान’लाई केवल चलचित्र नभई हरेक नेपालीको विद्रोहको प्रतीक भनेर बताएका छन् ।



