सलमान खानसँग एकै पर्दामा देखिँदै अनुप विक्रम शाही

काठमाडौं । अभिनेता अनुप विक्रम शाही अब बलिउडको ठूलो पर्दामा देखिने भएका छन् ।

अपुर्व लाखियाले निर्देश निर्देशन गरिरहेको चलचित्र ‘ब्याटल अफ गल्वान’बाट उनी बलिउड सिनेमामा नयाँ यात्रा सुरु गर्न लागेका हुन् ।

सन् २०२० मा लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपको कथामा आधारित रहेको ‘ब्याटल अफ गलवान’मा अभिनेता शाही र भारतीय सुपरस्टार सलमान खान एकै पर्दामा देखिनेछन् ।

हालै छायांकनमा सहभागी हुन भारतको लद्दाख पुगेका शाहीले त्यहाँ भएको पहिलो चरणको छायांकनमा सलमानसँगै अभिनय गरेका छन् । यस वार ड्रामा चलचित्रको सम्पन्न पहिलो चरणको छायांकनमा उनले सलमान खानसँगै महत्त्वपूर्ण दृश्यहरूमा काम गरेको जानकारी गराएका छन् ।

अभिनेता शाहीले सामाजिक सञ्जालमार्फत आफ्नो यो अविस्मरणीय अनुभव बाँड्दै लेखेका छन्, “लद्दाखमा मेरो पहिलो बलिउड फिल्मको पहिलो सेड्युल पूरा गर्न पाउँदा अत्यन्त सम्मानित र कृतज्ञ महसुस गरेको छु । सलमान खान सर र निर्देशक अपूर्व लाखियासँगको आगामी यात्राप्रति निकै उत्साहित छु ।”

तीन दिनको छायांकन सकेर नेपाल फर्किएका अभिनेता शाही आगामी महिनामा मुम्बईमा हुने दोस्रो चरणको सुटिङमा पनि सहभागी हुने बताएका छन् । यसले सिनेमामा उनको भूमिकालाई महत्त्वपूर्ण देखाउँछ ।

अभिनेता शाहीका अनुसार सुटिङको क्रममा सलमानले नेपालका कला र संस्कृतिप्रति विशेष चासो देखाएका थिए ।

भारतीय सेनाका वीर कर्नेल सन्तोष बाबुको बायोपिक सिनेमा रहेको ‘ब्याटल अफ गल्वान’मा अभिनेता खानले सन्तोष बाबुको भूमिका निर्वाह गर्दैछन् ।

चलचित्र ‘लगान’को सहायक निर्देशक हुँदै बलिउडमा निर्देशकीय यात्रा थालेका अपुर्वले त्यसयता ‘मुम्बई से आया मेरा दोस्त’, ‘सूटआउट एट लोखनवाला’, ‘हसीना पार्कर’, ‘मिसन इस्तानबुल’ लगायत दर्जनौं सिनेमा निर्देशन गरिसकेका छन् ।

सलमान खान फिल्मसको ब्यानरमा निर्माण भइरहेको ‘ब्याटल अफ गलवान’ मा सलमान र अनुपका साथमा चित्रांगदा सिंह, सुरेश नायर, अंकुर भाटिया लगायतका बलिउडका स्थापित कलाकारहरूको पनि अभिनय रहनेछ ।