दीपकराज गिरीले क्षतिग्रस्त प्रहरी वृत पुननिर्माण गर्न गरे आर्थिक सहयोग

काठमाडौं । अभिनेता तथा निर्माता दिपकराज गिरीले थानकोट प्रहरी वृत्तलाई आर्थिक सहयोग गरेका छन् ।

गिरीले काठमाडौंको थानकोट चेकपोस्टअन्तर्गत पर्ने क्षतिग्रस्त प्रहरी वृतको पुननिर्माणको लागि आर्थिक सहयोग प्रदान गरेका हुन् ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा उक्त प्रहरी वृतमा समेत आगजानी र तोडफोड भएको थियो ।

आगजनी र तोडफोडका कारण प्रहरी वृतमा करोडौं मूल्य बराबरका प्रविधि र सञ्चार उपकरण, पोशाक तथा अन्य संरचनामा क्षति पुगेको थियो । करिब पाँच महिनाअघि मात्रै नयाँ भवनबाट काम सुरु गरिएको प्रहरी वृत्तमा हालसम्म ७ करोड रुपैयाँभन्दा बढी क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।

आफ्नो जन्मथलो क्षेत्रमा रहेको उक्त प्रहरी वृत्त थानकोटमा पुगेर गिरीले पाँच लाख रुपैयाँ सहयोग रकम प्रदान गरेका थिए । उनले उक्त सहयोग रकम प्रहरी वृत्तका डिएसपी एलिजा गिरीलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरणपछि अभिनेता तथा निर्माता गिरीले प्रहरीको मनोबल उच्च बनाउन आफूले सानो योगदान दिएको बताए । उनले भने, “यो सुरुवात मात्रै हो, परिस्थिति अनुसार अरू ठाउँमा पनि सकेसम्म सहयोग गर्नेछु ।”