दीपकराज गिरीले भने– २०४८ मा प्रहरीमा भर्ना भएर तालिम गर्न नसकेपछि एक हप्तामै भागेको थिएँ

काठमाडौं । कलाकार दीपकराज गिरीले आफू सुरुमा प्रहरीको जागिरमा भर्ना भएर फिर्ता भएको बताएका छन् । प्रहरीको कडा तालिम गर्न नसकेर केही दिनमै भागेको उनले बताएका छन् ।

२०४८ सालमा प्रहरीमा भर्ना भएर एक हप्ता तालिम गरेपछि नसकेर भागेको दीपकले बताएका छन् ।

“म २०४८ सालतिर प्रहरीमा भर्ना भएको थिएँ । तालिम सुरू भयो, यति गाह्रो भभो कि । केहस् दिन मै भागेँ । एक हप्ता पनि टिक्न सकिनँ,” दीपकले फेसबुकमा लेखेका छन्, “म बेलाबेलामा सोच्थेँ, यस्तो कठिन जागिर मान्छेले कसरी खान्छ होला ? र, आज त मैले पूरा महसूस गरेँ, साँच्चै नै धेरै गारो रहेछ प्रहरीको जागिर ।”

जेनजी आन्दोलनमा प्रहरीले भोगेको दुःख र खाएको गालीपछि उनले यो रहस्य खोलेका हुन् ।

“यो जेनजी आन्दोलनमा कस्को कति गल्ती भयो ठ्याक्कै हिसाब त इतिहासले गर्नेछ । तर यो चाहिँ पक्का हो कि हामी सबैको भागमा केही न केही पर्छ नै । यदि, आन्दोलन दबाउने पक्षमा उभिएका थियौ भने सायद ती मृतकहरू र उनीहरूको परिवारको रगत र आशुका केही छिटाहरू हाम्रा भागमा पर्लान् । आन्दोलनको पक्षमा उभिएर लेख्यौ, वा सडकमा गएको थियौ भने केही मुठ्ठी खरानी भागमा पर्छ नै,” दीपकले लेखेका छन्, “गल्ती धेरै पक्षबाट भएका छन् , त्यो हिसाब नगरौँ अहिले । जति क्षति भए ति पनि बिस्तारै ठिक होलान्, हुनु पनि पर्छ । जलेका सरकारी भवन ढिला चाँढौ उठ्ला नै । निर्दोषहरू माथि भएको अन्याय पनि समयले सम्बोधन गर्ला, तर… । तर, तुरून्त उठाउनु पर्ने केही छ भने त्यो हो प्रहरीको मनोबल हो ।”

आन्दोलनमा प्रहरी लखेटिएका थिए । कुटिएका थिए । उनीहरूका हतियार र पोसाक लुटिए । प्रहरी कार्यालय जलाइए । तीनजना प्रहरीको मृत्यु नै भयो । यसले प्रहरीको मनोबल गिरेको दीपकले बताएका छन् । त्यसैले उनले थानकोटको जलेको प्रहरीबृत्त बनाउन पाँच लाख रुपैयाँ सहयोग पनि गरेका छन् ।

“दशैँ तिहार मुखमा छ । यसै पनि यो बेला चोरहरूको बिगबिगी हुने समय हो, त्यो माथि अहिले जेलबाट फरार कैदीहरू यत्रतत्र छन् । यस्तो अवस्थामा हाम्रो पहिलो प्राथमिकता के हुनुपर्ला ? प्रहरीले दशैँमा आफ्नो घर परिवार छोडेर हामीलाई सुरक्षा दिन्थ्यो र पो हामी परिवारसँग आनन्दले ढुक्क भएर दशैँ तिहार मनाउथ्यौँ,” दीपकले लेखेका छन्, “तर अहिले हामीलाई सुरक्षा दिने प्रहरी स्वयंसंग बस्ने भवन छैन । लगाउन पोशाक छैन । केही परे हिँड्न बाहन छैन । र, त्यो भन्दा पनि ठूलो उनीहरूको मनोबल उच्च छैन । यस्तोमा तपाईं हामीले कमसेकम आफ्नो क्षेत्रमा रहेको प्रहरी चौकी स्थापित गर्न सक्दो सहयोग गरौँ । उनप्हरू बस्ने बास पुन ः स्थापित गरौँ । उनीहरूलाइ अत्यावश्यक पर्ने कुरा हरू जोहो गरौँ । हिजो प्रहरी ले भन्थे नआत्तिनुस् हामी छौँ । आज तपाईं हामीले भनौँ, ‘तपाइहरू पनि नआत्तिनुस् हामी छौँ ।”