‘अभिमन्यु’ ‘अन्डरडग’हरूको सैयोगैसंयोगसहितको चलचित्र

काठमाडौं । असोज २४ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ यसअघि असोज १३ गते अर्थात् दशैंको फूलपातीमा बिग बजेटमा बनेका तीनवटा सिनेमासँग भिड्ने तयारीमा थियो ।

जसमा यो चलचित्र दसैँको फूलपातीमा रिलिज हुने ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’सँग एकैसाथ रिलिज हुने चर्चा रहेको थियो । तर, निर्माण पक्षले गत आइतबार विज्ञप्ति जारी गर्दै असोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउँदा शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तय गर्‍यो ।

असोज २४ गते चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ लाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।

निर्माता विनोद पौडेलले आफ्नो चलचित्र ‘अभिमन्यु : च्याप्टर १’लाई ‘अन्डरडग’हरूको मेहनतमा बनेको बताएका छन् । चर्चा र लाइमलाइटका हिसाबले अगाडि रहेकाभन्दा पनि अभिनय क्षमताका हिसाबले उम्दा रहेकाहरूसँग आफूले काम गरेको बताएका छन् ।

‘अभिमन्यु’का कलाकारहरूलाई ‘अन्डरडग’ भनेर निर्माता पौडेलले भनिरहँदा यो आफैँमा संयोगहरूको सिनेमा पनि हो । मुख्य भूमिकामा रहेका कामेश्वर चौरासियाको १७ वर्षपछि मुख्य भूमिका रहेको चलचित्र हो ।

कामेश्वरले चलचित्रमा काम गर्न थालेको १७ वर्ष भयो । यो १७ वर्षको अवधिमा उनले पहिलोपटक मुख्य भूमिकामा काम गरेको चलचित्र हो, यो । हरियाका रूपमा चर्चित उनको अभिनय क्षमताको जोकोही प्रशंसक हुन्, तर ‘अभिमन्यु’ले उनलाई सोलो लिडका लागि प्लेटफर्म दिँदा १७ वर्षपछिको पहिलो लिडको संख्योग बनेको छ ।

मुख्य भूमिकामा रहेकी लक्ष्मी बर्देबा, उनको बच्चा जन्मिएपछि सोलो लिडमा काम गरेको पहिलो चलचित्र हो । उनको अभिनय क्षमताको पनि चर्चा हुनेगर्छ । चारवटा चलचित्रमा सोलो लिड गरे पनि ती कुनै पनि रिलिज भएनन् । पाँचौँ चलचित्र हो, लिड भूमिकामा रहेर काम गरेको । पाँचौँ चलचित्र चाहिँ रिलिज हुँदैछ, लिड रोल रहेको, यो लक्ष्मीका लागि पनि संयोग नै हो ।

किरण श्रेष्ठ मुख्य भूमिकामा काम गर्दै आएका उनी यसपटक प्रहरी अफिसरको भूमिकामा देखिँदैछन् । प्रहरी अफिसरको भूमिकामा यो उनको पहिलो चलचित्र हो । यो पनि एक प्रकारको संयोग नै हो ।

प्रकाश दाहाल पनि लामै समयपछि पर्दामा फर्किंदैछन् । चरित्र अभिनयमा खारिएका उनी बीचको समयमा हराए, कतै भौतारिए भन्ने हल्लाहरूबीच देखिँदैछन् ।

सरिता गिरी अभिनय क्षमताका हिसाबले निकै अगाडि रहेको नाम हो । सानो भूमिका तर प्रभावशाली क्यारेक्टरमा देखिने उनको विशेषता हो, उनले पनि आफ्नो अर्थपूर्ण सहभागिता र भूमिका रहेको बताएकी छन् ।

त्यसैले यो चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ अन्डरडगहरूको अभूतपूर्व संयोग भएको सिनेमा हो । यसमा अभिनयले खारिएका चलचित्रकर्मीहरूको चलचित्र हो । यही कारण निर्माता पौडेल सिनेमा कास्टिङ हेरेर होइन कलाकारले गरेको कामले ठूलो अथवा सानो हुने बताउँदै आएका छन् ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।