सरेको सर्यै ‘अभिमन्यु’, पुग्यो असोज २४ मा

काठमाडौं । चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ पुनः सरेको छ । असोज १३ गते अर्थात् दशैंको फूलपातीमा रिलिज हुने भनिएको चलचित्र अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ ।
निर्माण पक्षले आइतबार विज्ञप्ति जारी गर्दै रिलिज मिति पछाडि सारिएको जानकारी दिएको हो । सोज १३ गतेकै दिन चारवटा नेपाली चलचित्र एकैसाथ प्रदर्शनमा आउने भएपछि शो संख्या कम हुने चिन्ता बढेको र प्रदर्शक तथा वितरकहरूको आग्रहलाई मध्यनजर गर्दै नयाँ मिति तोकिएको जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, “भदौ २७ गते प्रदर्शन गर्ने तयारीमा रहेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ देशमा चलेको Gen-Z आन्दोलनका कारण स्थगित गर्नुपरेको थियो । तर असोज १३ मा धेरै चलचित्र रिलिज हुने भएकाले पर्याप्त शो सुनिश्चित गर्न कठिन हुने देखियो । साथै यसले अन्य नेपाली चलचित्रलाई पनि असर पार्ने भएकाले हामीले अन्तिम रुपमा असोज २४ गतेलाई प्रदर्शन मिति तय गरेका छौँ ।”
यस दिन चलचित्रलाई नेपाली र हिन्दी दुवै भाषामा नेपालभरका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ ।
यस पटक फिल्मले सोलो रिलिजको मौका पाएको छ, जसलाई निर्माण पक्षले फाइदाजनक अवसरका रूपमा लिएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु : च्याप्टर १’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेको छ ।
‘अभिमन्यु : च्याप्टर १’ नेपाली संस्करणसँगै हिन्दीमा पनि असोज २४ गतेदेखि भारत र विश्वभर एकैसाथ प्रदर्शन हुने भएकाले यसलाई नेपाली सिनेमाका लागि ठूलो अवसरका रूपमा लिइएको छ ।