रचना र एलिनाको नाममा फेक अकाउन्ट, ५० हजार माग्दै स्क्याम

काठमाडौं । गायिका रचना रिमाल र गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत आफूहरूको नाम र फोटो दुरुपयोग गरेर ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत रहन आग्रह गरेका छन् ।

गायिकाद्वय रिमाल र चौहानको नाममा केही व्यक्तिहरूले आफ्नो आइडी प्रयोग गरी रकम असुल्ने प्रयास भइरहेको पाइएपछि उनीहरुले आफ्ना शुभचिन्तक र सबै प्रयोगकर्तालाई सचेत गराएका हुन् ।

स्क्यामरले ‘जेनजी आन्दोलन’ पछि आफ्नो आर्थिक अवस्था कमजोर भएको र भोकमरी लागेको जस्ता कारण देखाउँदै गायिकाद्वय रिमाल र चौहानसँग समेत रकम मागेको पाइएको हो । 

यस घटना सार्वजनिक भएपछि दुवै गायिकाले आफ्ना आधिकारिक फेसबुकमार्फत शुभचिन्तकलाई यस्ता ठगीबाट सजग रहन आग्रह गरेका छन् ।

गायिका रचना रिमालले आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी दिँदै भनिन्, “म कहिल्यै कसैसँग पैसा माग्दिनँ, मेरो नाम र फोटो प्रयोग गरेर खोलिएका फेक अकाउन्टबाट पैसा मागिएको छ । कृपया कसैले पनि त्यस्ता व्यक्तिहरूसँग सम्पर्क नगर्नुहोस् ।” उनले फेक आइडी सञ्चालन गर्नेहरूलाई तुरुन्त बन्द गर्न चेतावनी समेत दिएकी छिन् ।

रचना रिमालकै नाममा खोलिएको फेक अकाउन्टबाट गायिकालाई पठाइएको सन्देशमा लेखिएको थियो– “हेलो दिदी नमस्कार, यो हजुरको आईडी कुनै स्वार्थले खोलिएको हैन । जेनजी आन्दोलनपछि आर्थिक स्थिति कमजोर भएकाले भोकमरी जस्ता समस्या भोगिरहेको छु । त्यसैले पचास हजार रुपैयाँ सहयोग गरिदिनुहुन्छ भन्ने आशा राख्दै खोलिएको हो । काम सकिएपछि डिलिट गरिदिन्छु ।”

सो सन्देशसँगै रकम पठाउनका लागि ईसेवाको क्यूआर कोड समेत पठाइएको पाइएको छ ।

यस्तै प्रकृतिको सन्देश गायिका एलिना चौहानको नाममा बनाइएको अर्को फेक अकाउन्टबाट पनि पठाइएको पुष्टि भएको छ ।

गायिका चौहानले पनि आफ्ना शुभचिन्तकलाई सजग गराउँदै लेखेकी छिन्, “मेरो फेसबुक आईडी दुरुपयोग गरेर केही व्यक्तिले पैसा उठाउने काम गरिरहेका छन् भन्ने जानकारी पाएको छु । सबैलाई अनुरोध छ – सावधान रहनुहोस्, त्यस्ता ठगहरूलाई पैसा नदिनुहोस् । कुनै आईडी वा नाम प्रयोग गरेर सम्पर्क आएमा तुरुन्त ब्लक/रिपोर्ट गर्नुहोस् ।”