‘परिवर्तन’काे पोस्टरमा सुशील श्रेष्ठको दमदार एक्शन

काठमाडौं । चलचित्र ‘परिवर्तन’ को पहिलो पोस्टर सार्वजनिक गर्दे प्रर्दशन मिति घाेषणा गरिएको छ ।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रकाे निर्माणपक्षले सोमबार घटस्थापनाकाे अवसर परेर पोस्टर रिलिज गर्दै आगामी माघ ९ (जनवरी २३) गतेबाट प्रदर्शनमा आउने घोषणा गरेको हाे ।

सार्वजनिक पोस्टरमा मुख्य अभिनेता सुशील श्रेष्ठलाई आगो, तरवार र युद्धको पृष्ठभूमिमा एक्सन अवतारमा देखाइएको छ । उनको हातमा रहेको तरवारमा आगोको ज्वाला प्रतिविम्बित भएको छ भने, पृष्ठभूमिको नेताजस्ता पात्रहरूले कथामा संघर्ष, प्रतिशोध र सस्पेन्सको आभास दिन्छ ।

यसले चलचित्रको कथावस्तु कुनै सामाजिक–राजनीतिक घटनाक्रम वा देशको सीमा सुरक्षासँग जोडिएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।

निर्माण टिमका अनुसार यो चलचित्र सुशील श्रेष्ठको अहिलेसम्मकै शक्तिशाली एक्सन प्रस्तुति बन्ने संकेत पोस्टरमै स्पष्ट रहेकाे दाबी गरेकाे छ ।

चलचित्रमा श्री श्रेष्ठले एक्सन निर्देशन गरेका छन्, जसको काम अघिल्ला सिनेमाहरूभन्दा भिन्न र उत्कृष्ट देखिएको बताइएको छ ।

विजय केरुङ निर्देशित ‘परिवर्तन’ को कथा तथा निर्माण दीपक सिवाकोटीले गरेका हुन् ।

चलचित्रमा सुशील श्रेष्ठका साथै अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धर, हेमन्त बुढाथोकी, सुवास मेचे, बुद्धि तामाङ, पुकार भट्टराई, यामनाथ खरेल र गौतम तिवारी लगायतका कलाकारहरूको मुख्य भूमिका छ ।

चलचित्रकाे पटकथा शिवम् अधिकारीले लेखेका हुन् भने, ब्याकग्राउण्ड स्कोर बलिउडका कालाचरणले तयार पारेका छन् । सह–सम्पादन उमेश थापा, एसोसिएट निर्देशक नवराज शर्मा, कलरिस्ट राजेन्द्र मोक्तान, सम्पादन बन्दे प्रसाद, डिओपी शिव ढकाल रहेकाछन् ।

निर्माण पक्षका अनुसार ‘परिवर्तन’ को कथा, संवाद र गीत–संगीत नेपाली समाजमा देखिएको परिवर्तनको चाहनासँग प्रत्यक्ष जोडिएको छ ।

याे चलचित्रको वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ ।