‘लज्जावती’को मुहूर्तसँगै छायांकन सुरु, को-को छन् कलाकार ?

काठमाडौं । नयाँ नेपाली चलचित्र ‘लज्जावती’को शुभमुहूर्त गरिएको छ ।
राज बहादुर सानेको निर्देशनमा तयार हुने चलचित्रको सोमबार घटस्थापनाको अवसर पारेर पशुपतिनाथ मन्दिर परिसरमा मुहूर्तसँगै छायांकन सुरु गरिएको हो ।
आहा फिल्म्सको व्यानरमा तयार हुने ‘लज्जावती’को शुभमुहूर्त सट लेखक प्रदीप भारद्धाजको निर्देशनमा खिचिएको थियो । त्यही अवसरमा चलचित्रका मुख्य कलाकार मुकुन भुषाल, श्रीकृष्ण निरौला, मेनुका माझि र जानुका विश्वकर्मा उपस्थित रहँदा, निर्माता विकास राज जोशीले परम्पराअनुसार नरिवल फुटाएका थिए ।
यस चलचित्रको पशुपति आर्यघाटमा सुरु भएको छायांकन करिब ३० दिनमा सम्पन्न गर्ने तयारी निर्देशक सानेले बताएका छन् ।
सौरभ वली प्रस्तुतकर्ता रहेको यस चलचित्रको निर्मातामा कमल प्रसाद शर्मा र सन्दीप रोकाया रहेका छन् । दीपक भण्डारी कार्यकारी निर्माता रहेको चलचित्रका सह–निर्माता भीमराज रोकाया हुन् ।
दिव्यराज सुवेदीले छायांकनको जिम्मा लिएका छन् । उनलाई प्रवीन सुवेदीले सह–छायांकारको रूपमा सहयोग गर्नेछन् । विशाल बराल मुख्य सहायक निर्देशक र रवी केसी मेकअप आर्टिस्टका रूपमा टीममा रहेका छन् ।
काठमाडौं आसपासका विभिन्न स्थानमा खिचिने ‘लज्जावती’मा प्रमुख कलाकारसँगै माओत्से गुरुङ, सुशिल पोखरेल, हिउँवाला गौतम, सपना श्रेष्ठ, प्रिया रिजाल, विनोद श्रेष्ठ, केशव रिजाल, रामहरी खड्का लगायत कलाकारहरूको पनि अभिनय रहनेछ ।
चलचित्रको सम्पूर्ण पोस्ट–प्रोडक्सनको काम पूरा भएपछि मात्र सिनेमाको प्रदर्शन मिति घोषणा गरिने निर्माण टिमले जानकारी गराएको छ ।