चक्रब्यूहमा फसेका ‘अभिमन्यु’ निर्माता पौडेल

काठमाडौं । चलचित्र ‘अभिमन्यु’को प्रदर्शनलाई लिएर केही समय राम्रै अलमल देखियो । जेनजीको आन्दोलनका कारण भदौ २७ गते पूर्वनिर्धारित मितिमा प्रदर्शनमा आउन नसकेपछि यसका निर्माता विनोद पौडेलले भने– म मेरो सिनेमा असोज १३ गते फूलपातीका दिन रिलिज गर्छु ।
बाक्लो लाइनअप रहेको फूलपातीमा तीनवटा चलचित्र आउने पहिला नै तय भइसकेको थियो । ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ले यो मिति लक गरिसकेका थिए । तर, ‘अभिमन्यु’ निर्माताले यही डेट रोजे ।
सायद उनलाई आफ्नो चलचित्रमा राम्रै भरोसा थियो, अझ भनौँ ओभर कन्फिडेन्स थियो । त्यसैले यो मितिमा जसरी पनि चलचित्र रिलिज गरेरै छोड्ने ढिट कसे ।
तर, प्रदर्शक अथवा हल सञ्चालक र वितरकलाई भने विनोदको निर्णय चित्त बुझिरहेको थिएन । देशकै सबैभन्दा ठूलो सिनेमा हलहरूको चेन क्यूएफएक्सले फूलपातीमा अन्य तीनवटा नेपाली चलचित्र रहेको र केही दिनपछि भारतबाट बिग बजेटको चलचित्र आउने भएकाले अरु मितिमा आउन सल्लाह दियो ।
तर, विनोदले मानेनन् । त्यसपछि क्यूएफएक्स पनि के कम, बक्सअसफिसमा सबैभन्दा धेरै सेयर दिने चेन पो हो त, फूलपातीमै आउने भए आउ तर शो दिन सक्दैनौँ । कमिङ सुनमा पनि राख्न सक्दैनौँ भन्दियो ।
विनोदले सिनेमा ठूलो र सानो प्रदर्शन पछि थाहा हुने भन्दै हेपिएको महसुस भएको सार्वजनिक रुपमै फेसबुकबाट साझा गरे । तर, क्यूएफएक्स टसको मस भएन, ‘अभिमन्यु’लाई कमिङ सुनमा राखेन ।
देशकै ठूलो मल्टिप्लेक्स चेनमा रिलिज नहुने भएपछि अन्ततः विनोद आफ्नो चलचित्रलाई फूलपातीबाट पछि सार्न बाध्य भए । असोज २४ मा ‘अभिमन्यु’ रिलिज गर्ने भन्दै नयाँ डेट लक गरे ।
सुरुमा ढिट देखिएका विनोद अन्ततः आफैँ चक्रब्युहमा फसे । तर, यो डेटमा ‘अभिमन्यु’ले सोलो रिलिजको मौका पाएको छ । यदि, विनोदमा देखियो आत्मविश्वास जस्तै राम्रो सिनेमा बनेको रहेछ भने उनलाई फाइदा नै होला ।
उनले सुरुमा यो सिनेमाको नाम ‘अभिमन्यु’ होइन ‘चक्रव्युह’ राख्न खोजेका थिए । सिनेमाको नाम ‘चक्रव्युह’ राख्न नपाए पनि नचाहेरै किन नहोस्, उनले चाहिँ ‘चक्रव्युह’मा बसेको अनुभूत गर्न पाए ।