‘बलिदान’मा मनोरञ्जनसँगै देश र आमाप्रतिको माया झल्किन्छ’

काठमाडौं । निर्देशक तथा निर्माता सन्तोष सेनले चलचित्रलाई केवल मनोरञ्जनको साधन नभई देशभक्ति र आमाप्रतिको कर्तव्य बोध भएकाे बताएका छन् । असोज १३ गतेदेखि प्रदर्शनमा आउने ‘बलिदान’लाई नेपाली चलचित्र इतिहासमै साहसी कदमका रूपमा स्मरणीय बन्ने उनी बताउँछन् ।
“हामीले उठाएको विषयवस्तुलाई पर्दामा उतार्न निकै कठिन थियो । लामो समयको निरन्तर धैर्य र परिश्रमपछि आज यो चलचित्र पर्दामा आउन लागेको हो । यसको प्रमुख भरोसा भनेकै देशप्रतिको र आफ्नी आमाप्रतिको माया, ममता र कर्तव्य हो,” सेनले भन्छन्, “चलचित्रलाई सफल बनाउन यसका कलाकारहरूको प्रस्तुति अत्यन्तै महत्त्वपूर्ण छ । हामीले प्रस्तुत गरेको कथा र दृश्यहरूले दर्शकलाई देश र आमा प्रतिको भावना झल्काउनेछन् । साथै, चलचित्रले राजनीतिक कुटिलताले आम जनतालाई कसरी बहकाउँछ र प्रयोग गर्छ भन्ने सन्देश पनि दिन्छ ।”
गत शुक्रवार सार्वजनिक गरिएको ‘बलिदान’को ट्रेलरले नेपाली चलचित्र चर्चा पाइरहेकाे छ । यसअघि पोस्टर, प्रि-टिजर, टिजर र गीतमार्फत उत्सुकता बढाइसकेको चलचित्रले ट्रेलरमार्फत झन् ठुलो अपेक्षा निर्माण गरेको छ । ट्रेलरमा एक आमाले छोरासँग देश र अस्मिता जोगाउने वचन माग्ने भावनात्मक दृश्य देखिन्छ ।
अभिनेता समीर भट्ट, सौगात मल्ल, अर्पण थापा र महेन्द्र बुढाथोकी फरक अवतारमा देखिएका छन् । यसअघि सार्वजनिक भएको शीर्ष गीत ‘यो ज्यान बलिदान’ अहिले जनमानसमा निकै लोकप्रिय बन्दै गएको छ । सुजन चापागाईँको स्वर र सङ्गीत तथा हर्क साउदको शब्दमा तयार यो गीतले देशभक्तिको भावनालाई झन् प्रज्वलित बनाएको छ ।
‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारहरूको दमदार अभिनय देख्न पाइनेछ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।
निर्देशक सेनले यसलाई केवल चलचित्र नभई हरेक नेपालीको मनको विद्रोहको प्रतीक भएको बताएका छन् । उनका अनुसार, ‘बलिदान’ हेर्ने दर्शकले मनोरञ्जनसँगै देशभक्ति, आमाप्रतिको माया र समाजप्रतिको जिम्मेवारीको गहिरो सन्देश पाउनेछन्।