संयुक्त लगानीमा बनेको पहिलो चलचित्र कुन हो ?

काठमाडौं । नेपाली चलचित्रको इतिहासमा थुप्रै रेकर्ड छन् । थुप्रै चलचित्रका नाममा थुप्रै रेकर्ड छन् ।

चलचित्र ‘जीवन ज्योति’को नाममा पनि एउटा रेकर्ड छ । त्यो रेकर्ड हो, नेपाल भित्र र बाहिरको संयुक्त लगानीमा बनेको चलचित्रको ।

पहिलो पटक नेपाली र विदेशी लगानीकर्ताको संयुक्त लगानीमा बनेको चलचित्र ‘जीवन ज्योति’ हो । यसमा नेपाल, पाकिस्तान र बंगलादेशका लगानीकर्ताको लगानी थियो ।

यो चलचित्र नेपालमा त रिलिज भयो नै डब गरेर पाकिस्तान र बंगलादेशमा पनि रिलिज भएको थियो । पाकिस्तानमा यो चलचित्रले ठूलो परिमाणमा व्यापार गरेको थियो । नेपालमा पनि यो चलचित्र बक्सअफिसमा सफल भएको थियो ।

‘जीवन ज्योति’ वि.स. २०४२ साल फागुन ६ गते नेपालमा प्रदर्शन भएको थियो । यो चलचित्रलाई मोहमद फजीले निर्देशन गरेका थिए ।

यो चलचित्रमा एक्सन नायक शिव श्रेष्ठ मुख्य भूमिकामा थिए । उनीसँगै नदिम, रोजिना, मिनाक्षी आनन्द तथा तलत हुसैन आदि कलाकार थिए ।

शिव श्रेष्ठ पाकिस्तानमा पनि रुचाइएको कलाकार हुन् । उनलाई पाकिस्तानमै घर, गाडी दिएर बस्न आग्रह गरिएको थियो । तर, उनले मानेनन् र नेपालमै बसे ।

पाकिस्तानमा शिवाको नामबाट चर्चित शिव श्रेष्ठले पाँच वर्ष काम गरेर नेपाल फर्किएका थिए ।