‘बलिदान’को अग्रिम टिकट बिक्री सुरू

काठमाडौं । फूलपातीदेखि रिलिज हुन लागेको नेपाली चलचित्र ‘बलिदान’को अग्रिम टिकट बिक्री सुरु भएको छ । नेपालका अधिकांश हलमा बुधबारदेखि नै टिकट बिक्री सुरु भइसकेको छ भने बिहीबारसम्म करिब सबै हलमा खुल्ने वितरकहरूले जनाएका छन् ।
चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्म्स र उपत्यकाबाहिर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गरेका हुन् । बुधबार नै नेपालकै सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्स सिनेमाजले करिब १ सय शो ‘बलिदान’लाई दिएको छ ।
त्यसैगरी दोस्रो ठुलो मल्टिप्लेक्स चेन आइएनआइ सिनेमाजले पनि उल्लेख्य शो प्रदान गरिसकेको छ । देशभरका अन्य हलहरूमा पनि उच्च सङ्ख्यामा शो प्राप्त भएको छ । समाचार तयार पार्दासम्म करिब २ सय शो सुनिश्चित भइसकेको र यो सङ्ख्या ३ सयसम्म पुग्न सक्ने वितरकको भनाइ छ ।
यसअघि सार्वजनिक गरिएको पोस्टर, प्रि-टिजर, टिजर, गीत र ट्रेलरमार्फत चलचित्रले दर्शकमाझ ठुलो उत्सुकता पैदा गरिसकेको छ।
‘आशुसेन फिल्म्स प्रा.लि.’को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायतका कलाकारको अभिनय रहेको छ। पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता हुन् ।