चलचित्र ‘हर्ष’को पहिलो गीत ‘सिठ्ठी मार’ सार्वजनिक

काठमाडाैं । चलचित्र ‘हर्ष’ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ ।

एकता पौडेलको डेब्यु निर्देशन रहेको चलचित्रको निर्माणपक्षले शुक्रबार ‘सिठ्ठी मार’ बोलको गीत सार्वजनिक गरेको हो ।

मंसिर १२ गते रिलिज हुने चलचित्रको सार्वजनिक यो गीतमा प्रताप दास र सदिक्षा कट्टेलको स्वर, एलिस कार्कीको संगीत र पवित्रा घिमिरेको शब्द रहेको छ ।

सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको यस गीतमा वर्षा राउत, खगेन्द्र लामिछाने, सन्तोष पन्त, विशाल पहारी, शर्मिला मल्ल, अंशु महर्जन, सुनिल क्षेत्री, माओत्से गुरुङ, लुनिभा तुलाधर लगायतका कलाकारहरू फिचर छन् ।

आलोक शुक्लाले खिचेको यो गीत पारिवारिक जमघटमा नाचगानका लागि उपयुक्त हुने निर्माण पक्षको विश्वास छ ।

पारिवारिक ड्रामा रहेको ‘हर्ष’मा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला पन्त, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, श्रीजना नापित तथा बाल कलाकार साइमन वादीको अभिनय रहेको छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यस सिनेमाको कथा निर्देशक पौडेल आफैंले लेखेकी हुन् । स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकताले न्यूयोर्क सिनेमा एकेडेमीबाट सिनेमा मेकिङको अध्ययन गरेकी छन् र यसअघि केही छोटा सिनेमाहरू पनि निर्देशन गरिसकेकी छन् ।

चलचित्र ‘हर्ष’लाई प्रशन्न पौडेल तथा विकाश पौडेलले निर्माण गरेका हुन् । कार्यकारी निर्मातामा हिक्मत चोखाल हुन् ।

‘हर्ष’मा समीर र हिमाल, वसन्त सापकोटा तथा एलिस कार्कीको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी रहेको छ ।

स्वर्गीय शिव रेग्मी, डाक्टर कृष्णहरि बराल, पवित्रा घिमिरे, नीरकमल खड्काको शब्द रचना रहेको यस चलचित्रका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।

चितवनमा छायांकन गरिएको यो चलचित्र हाल पोस्ट-प्रोडक्सनको चरणमा छ । यस सिनेमाको वितरणको जिम्मा गोविन्द शाहीको काफिया फिल्मस्ले लिएको छ ।