जेन​जी आन्दोलनले बोकेको सुशासनको सपना र ‘हरिबहादुरको जुत्ता’बीच गहिरो तालमेल !

काठमाडौं । सडकमा ‘जेन​जी’को रगतले लतपतिएको जुत्ताले सुशासनको नारा घन्काएको केही समयमै, नेपाली सिनेमाको पर्दामा अर्को एउटा विद्रोहको बिगुल फुकेको छ: हरिवंश आचार्यको ‘हरिबहादुरको जुत्ता’ले ।

यसलाई आचार्य स्वयंले नेपालको वर्तमान राजनीतिक बेथिति, विकृति र कुशासनविरुद्धको वैचारिक र कलात्मक युद्धका रूपमा परिभाषित गरेका छन् ।

दशैंको छेको पारेर असोज १३ गते प्रदर्शनमा आउन लागेको यो चलचित्रले सडकमा उठेका आवाजलाई हलसम्म पुर्‍याउने ध्येय राखेको छ । पत्रकार सम्मेलनमा आचार्यले यो संयोग मात्र भएको बताए पनि, जेन​जी आन्दोलनले बोकेको सुशासनको सपना र ‘हरिबहादुरको जुत्ता’को मूल सन्देशबीच गहिरो तालमेल देखिन्छ ।

हालै सम्पन्न जेन​जी आन्दोलनका ७३ शहीद र रगतले लतपतिएको जुत्ताको मार्मिक प्रतीकलाई बिर्सन सकिँदैन । यही प्रतीकलाई आशा र परिवर्तनसँग जोड्दै, ‘हरिबहादुरको जुत्ता’ले युवा पुस्तालाई राजनीतिक मूलधारमा सक्रिय हुन र देशको भविष्य निर्माणमा अग्रसर हुन आह्वान गरेको छ । आचार्य भन्छन्, “हामीले दुई वर्षअघि नै यस्तै विद्रोह फिल्ममार्फत उठाउनुपर्छ भनेर तयारी थालेका थियौं । सडकमा आएको माग र हाम्रो फिल्मको आवाज एउटै ध्येयका हुन् ।”

यदि फिल्म केही महिनापछि प्रदर्शनमा आएको भए, यसलाई ‘जेन​जी’ पुस्ताको विषयवस्तुमा बनेको भनिन्थ्यो होला । तर, यसको समयमै प्रदर्शनले यो विषय हरेक नेपालीको मनमा गुम्सिएको रहेछ भन्ने प्रमाणित हुने आचार्यको विश्वास छ ।

१६ वर्षपछि लोकप्रिय पात्र ‘हरिबहादुर’ ठूलो पर्दामा फर्किएका छन् । यसअघि टेलिसिरियलमार्फत हाँस्य र जनचेतना फैलाएका आचार्यले यसपटक ‘हरिबहादुरको जुत्ता’लाई केवल कमेडीका रूपमा मात्र नलिइदिन आग्रह गरेका छन् । ट्रेलरले नै यो फिल्ममा गहन सामाजिक र राजनीतिक विषयवस्तु समावेश भएको स्पष्ट पारेको छ । “यो फिल्म केवल हँसाउनका लागि मात्र बनाइएको होइन रहेछ भन्ने कुरा दर्शकले बुझ्नु भएको छ,” आचार्य भन्छन् ।

निर्देशक दिपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, किरण केसी लगायतका कलाकारहरूको अभिनय रहेको छ। एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको यो फिल्मको कथा हरिवंश आचार्य आफैंले लेखेका हुन् । कृष्णबहादुर थापाको छायांकन, नकुल खड्काको सम्पादन र वसन्त सापकोटा, दीपक शर्मा तथा प्रकाश सपुतको संगीतले फिल्मलाई अझ सशक्त बनाएको छ ।

‘हरिबहादुरको जुत्ता’ नेपाली सिनेमाको इतिहासमा एउटा महत्वपूर्ण कोसेढुंगा बन्ने संकेत देखाएको छ, जसले मनोरञ्जनका साथसाथै सामाजिक चेतना र राजनीतिक खबरदारीको आवाज पनि बोकेको छ ।