गत वर्षको बाछिटा पुनः नदेखियोस्, सम्हालिएर अगाडि बढ

चलचित्र बिजनेस शो । कलाको बिजनेस । कसैले होइन भन्छ भने त्यो झुट हो । कोही कुनै अपबाद होला त्यो अलग पाटो हो । तर, त्यसमा पनि स्वार्थ त हुन्छ नै । कसैले छोराछोरीका लागि सिनेमा बनाउला, कसैलाई कुनै समुदाय वा जातिको कथा कसैलाई देखाउनु होला, कसैलाई अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा लिएर जानुपर्ने होला । जे होस्, बिना स्वार्थ सिनेमा बन्दैन यो ढुक्क हो ।
सिनेमा बिजनेस भएपछि प्रतिस्पर्धा हुन्छ, यो स्वभाविक हो । बजारमा बस्तुहरूबीच प्रतिस्पर्धा हुन्छ । जुन बस्तु जति गुणस्तरको छ, त्यसको मूल्य त्यति नै हुन्छ अथवा गुणस्तरले बस्तुको मूल्य निर्धारण गर्छ । यो बजारको नियम हो । जुन बस्तु गुणस्तरीय अथवा राम्रो हुन्छ, त्यसैलाई दर्शकले मन पराउँछन् ।
त्यसैले जुन चलचित्र राम्रो छ, त्यही चल्ने हो । राम्रोलाई नै दर्शकले छान्ने हुन् । त्यसैले यसमा धेरै तनाव लिनु वा दिनुपर्ने केही छैन ।
यो दसैँको फूलपातीमा एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज हुँदैछन् । ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ । यी तीनवटा चलचित्रको प्रतिस्पर्धा स्वस्थ होस् । गत वर्ष पनि तीनवटा सिनेमा एकै दिन रिलिज हुँदा दुईवटा सिनेमाको टिममा अस्वस्थ प्रतिस्पर्धा भएको थियो ।
साइबर सेना, फेक कमेन्ट र नियोजित गालीको विषयलाई लिएर आरोप प्रत्यारोप चलेको थियो । त्यसको बाछिटा यो वर्ष नदेखिसकेको थियो ।
‘बलिदान’ र ‘माइतीघर’को टिम आरोप प्रत्यारोपमा उत्रिएका थिए । त्यसमा दीपकराज गिरी पनि जोडिएपछि फेसबुक वार अडियो र भिडियोसम्म पुगेको थियो ।
तर, ठिक त्यहीबेला सकारले फेसबुकमा लगाएको प्रतिबन्द र जेनजीको प्रदर्शनले यो विषय छायामा पर्यो । त्यसपछि यो आरोप प्रत्यारोप देखिएको छैन ।
चलचित्र रिलिज भएपछि यो बल्झिन सक्छ, किनकी सँगै चलचित्र प्रदर्शनमा आउँदैछन् । आफ्नो चलचित्रको चर्चाले अर्को चलचित्रलाई छायामा पार्ने उद्देश्यले कुनै पनि पक्षले यसलाई बल्झाउन सक्छ ।
यसका लागि यी दुई टिमलाई तेस्रो पक्षले उचालेर आगो झोस्न पनि सक्छ । आगो लगाएर रमिता हेर्ने प्रवृत्ति चलचित्र उद्योगमा नयाँ होइन, त्यसैले यसमा सचेत हुनुपर्ने देखिन्छ । स्वस्थ प्रतिस्पर्धाले मात्रै अगाडि बढाउने भएकाले सम्हालिएर सुझबुझपूर्ण व्यवाहार गर्नुको विकल्प छैन ।
मिलेर अगाडि बढे सबैको राम्रो हुन्छ । भाइभाइलाई लडाएर फाइदा लिनेहरूको समाजमा कमी नरहेकाले के सही र के गलत आफैँले निर्णय लिनुपर्छ । अस्वस्थ होइन स्वस्थ प्रतिस्पर्धाप्रति भरोसा गर्नुपर्छ ।
एकले अर्कालाई गाली गर्नेभन्दा पनि आफ्नो चलचित्र कसरी राम्रो बजाउनेभन्नेमा ध्यान एकत्रित गर्नुपर्छ । यसले नै चलचित्रलाई सही गन्तब्यमा पु¥याउँछ । यसको विकल्प कसैले कुनै पनि माध्यम लगाएर खोज्ने प्रयास गर्छ भने त्यो प्रयासमै सीमित रहन्छ, त्यो यात्राको गन्तब्यमा पुग्दैन ।