शान्तीश्रीलाई खेमसँग काम गर्न छैन आपत्ति, खेमले सहकार्यको ढोका खोलिदेलान् ?

काठमाडौं । ‘अरेली काँडैले’, ‘खोली तारी देउन माझी दाइ’ जस्ता सफल गीतकी गायिका शान्तिश्री परियार र गायक तथा संगीतकार खेम सेञ्चुरी लामो समयदेखि नयाँ सहकार्यमा देखिएका छैनन् ।
२०८१ सालको तीजलाई लक्षित गरेर सार्वजनिक गरिएको गीतमा खेमले संगीत दिएका थिए भने शान्तीश्रीको स्वर थियो । शान्तीश्रीकै निर्माण र युट्युब च्यानलमार्फत आएको यो गीतले छोटो समयमा करोडौं भ्यूज बटुल्दै कीर्तिमान रच्यो । यो सहकार्यपछि यी दुईबीच फाटो आयो ।
लोकसंगीतका चर्चित कलाकार खेम र शान्तिश्रीको सम्बन्धमा ‘चित्त बुझाइ नभएको’ दुवैले स्वीकार गरिसकेका छन् । अब यी दुई गायक गायीकाले पुनः सहकार्य गर्ने संकेत देखिएको छ ।
हालै प्रशान्त शिवाकोटीसँग गाएको चलचित्र ‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीत सार्वजनिक भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै शान्तिश्रीले आफूबाट सहकार्यको सम्भावना जहिले पनि खुला रहेको बताइन् ।
“सहकार्य गर्नका लागि मबाट केही आपत्ति छैन । एकअर्कामा चित्त बुझाइ नभएको कुरा यहाँहरूलाई थाहा छ । मबाट केही समस्या छैन । मेरो तर्फबाट सहकार्यका लागि सम्भावना जहिले पनि खुला छ,” उनले भनिन् ।
शान्तिश्रीको यो भनाइले लोकसंगीतका लाखौं श्रोता तथा दर्शकमाझ खुसी ल्याएको छ । दर्शक तथा श्रोता यो प्रतिभाशाली जोडीलाई फेरि सँगै सुन्नका लागि व्यग्र प्रतीक्षा गरिरहेका छन् । यद्यपि, दुवै कलाकार हाल आफ्नै सांगीतिक यात्रामा व्यस्त छन् । खेम सेञ्चुरी पनि नयाँ गायिकाहरूसँग सहकार्य गर्दै आएका छन् ।
तर, शान्तिश्रीको यो सकारात्मक संकेतले यी दुईबीच भविष्यमा पुनः सहकार्य हुने सम्भावना देखाएको छ । केही समयदेखि सहकार्य नगरेका यी गायक गायीकाले पुनः सहकार्य गरे नेपाली लोक संगीतमा नयाँ ऊर्जा भर्नेछ भन्नेमा शंका छैन । तर, खेम यसमा कति सकारात्मक देखिन्छन् । यो महत्वपूर्ण पक्ष हो । शान्तश्रीले सुरुदेखि नै आफूबाट सहकार्यको ढोका बन्द नभएको बताउँदै आएकी छन् । खेमले भने असन्तुष्टि जनाउँदै आएका छन् ।
त्यसैले खेमले हसकार्यको ढोका खोल्छन् वा खोल्दैनन् त्यसले मात्रै पुनः उनीहरूबीच सँगै काम गर्ने वा नगर्ने भन्ने निर्धारण हुनेछ । खेमले चित्त दुखाएकाले सहकार्यका लागि उनी मुख्य पक्ष हुन् । शान्तीश्री एक्लै चाहँदैमा यो सम्भव छैन । जबसम्म खेमको मन फर्किंदैन, उनीहरूबीच सहकार्यको सम्भावना छैन ।