२५ दिनमै सकियाे फिल्म ‘आबाट आमा’को छायांंकन

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा निर्माण थालेको फिल्म ‘आबाट आमा’को २५ दिनमै छायांकन सकिएको छ । फिल्मको छायांकन सकिए लगत्तै निर्देशक पन्त र अभिनेता पल शाहलाई अर्को अनटाइल फिल्मका लागि अनुबन्ध गरेका छन् ।

निर्देशक चन्द्र पन्तले फिल्मको नाम र अन्य कलाकारको बारेमा केहि दिनपछि जानकारी दिने बताए । अहिलेलाई अभिनेताका रुपमा पललाई लिएको र पहिलो जस्तै दोस्रो सहकार्य पनि दमदार हुने उनको भनाई छ ।

निर्देशक पन्तले फिल्म ‘आ बाट आमा’को छायांकन २५ दिनअघि तनहुँको गलेश्वर मन्दिरमा शुभ मुहूर्तसँगै चितवनबाट छायांकन थालेका थिए ।

एक महिनाको सेड्युलमा छायांकन थालेता पनि कलाकार तथा प्राविधिक पक्षको मेहनतका कारण ५ दिन अगावै फिल्मको सुटिङ सकिएको निर्देशक पन्तले जानकारी दिएका छन् ।

चितवन, काठमाडौंलगायत विभिन्न स्थानमा खिचिएको यस फिल्ममा पल शाह,प्रदीप रावत,विपना थापा, गजित बिष्ट, साइग्रेस पोखरेल,सिम्रन पन्त, उषा उप्रेती लगायतले मुख्य भुमिकामा अभिनय गरेका छन् । आमा र सन्तानबीचको माया ममता तथा स्नेहको कथालाई फिल्मले बोल्ने छ ।

फिल्मको छायांकन सकिएपछि अभिनेता पल शाहले आफु यो फिल्मबाट निकै आशावादी रहेको बताए। उनी भन्छन्,‘म आशावादी छु तपाईं भगवान रूपी दर्शकहरूले ‘आबाट आमा’लाई पनि सधैं झैँ माया र समर्थन गर्नु हुनेछ र भविष्यमा अझ उत्कृष्ट सिर्जना गर्न प्रेरणा दिनुहुनेछ।’

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मको डिओपीमा नवराज उप्रेती रहेका छन् । फिल्मको संगीतमा कोशिस क्षेत्री,बाबुल गिरी, थानेश्वर गौतम, रहेका छन् ।

यो फिल्मको विदेश प्रदर्शन अधिकार बिक्री भइसकेको छ । निर्माण पक्षका अनुसार अस्ट्रेलिया र न्युजिल्याण्ड प्रदर्शन अधिकार विक्री भएको हो । हिमारु इन्टरटेन्मेन्ट प्रा.लि.ले दुबै देशका अधिकार खरिद गरेको निर्माण पक्षले जनाएको छ ।

नेपालमा फिल्मको प्रदर्शन अधिकार आरआर फिल्म्सले गर्दैछ  भने यो फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।