अभिनेता थलापति विजयको र्‍यालीमा भागदौड हुँदा ३९ जनाको मृत्यु

काठमाडौं । भारतको दक्षिणी राज्य तमिलनाडुमा अभिनेता थलापति विजयको राजनीतिक र्‍यालीमा भागदौड मच्चिँदा कम्तीमा ३९ जनाको मृत्यु भएको छ । ९५ जना घाइते भएका छन् ।

अभिनेताबाट राजनीतिज्ञ बनेका थलापति विजयको प्रचार कार्यक्रममा शनिबार दक्षिणी करुर जिल्लामा हजारौँ मानिस भेला भएका थिए । टेलिभिजनमा प्रसारित फुटेजहरूमा खचाखच भीडमा मानिस मूर्च्छा परेको देखाइएको थियो ।

राज्यका स्वास्थ्यमन्त्री एम सुब्रमण्यनले स्थानीय सञ्चारमाध्यमलाई जानकारी दिँदै मृत्यु हुनेमा कम्तीमा १६ महिला, नौ पुरुष र ६ बालबालिका रहेका बताएका छन् ।

राज्य सरकारले मृतकका परिवारलाई १०/१० लाख भारु क्षतिपूर्ति प्रदान र घटनाको जाँचबुझ गरिने बताएको छ ।

अभिनेता विजयले घटनाबाट असहनीय पीडा र दुःखमा रहेको बताएका छन् । उनले मृत्यु भएकाहरूको परिवारप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै अस्पतालमा रहेकाको शीघ्र स्वास्थ्यलाभका कामना गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनालाई दुर्भाग्यपूर्ण र दुःखद भनेका छन् । बीबीसी