राजनीतिक व्यक्तित्वको जीवनीमा बनेको पहिलो नेपाली चलचित्र कुन हो ?

नेपाली चलचित्र इतिहासमा रहेका थुप्रै रेकर्डमध्ये एउटा हो, पहिलो राजनीतिक सिनेमाको नाममा रहेको रेकर्ड । अथवा राजनीतिक जीवनीमा बनेको सिनेमा ।

नेपालमा राजनीतिक व्यक्तित्वको जीवनमा केन्द्रित रहेर बनेको पहिलो चलचित्र ‘वीर गणेशमान’ हो ।

‘वीर गणेशमान’ नेपाली राजनीतिज्ञ गणेशमान सिंहको जीवनमा आधारित रहेर बनेको चलचित्र हो । यो राजनीतिक व्यक्तिको जीवनीमा बनेको पहिलो नेपाली चलचित्र हो ।

नेपाली कांग्रेसका नेता गणेशमान सिंहलाई लौह पुरुष पनि भनिन्छ । उनी एक आदर्श राजनीतिज्ञ हुन् । विसं २०४६ सालको जनआन्दोलनको नेतृत्व उनैले गरेका थिए । उनलाई सर्वमान्य नेता अथवा सबैले मानेका नेता पनि भनिन्छ ।

जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न आग्रह गर्दा अस्वीकार गरेका थिए । गणेशमान कै सिफारिसमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।

उनको प्रजातान्त्रिक संघर्ष, जेल जीवन, देशप्रेम र आदर्शलाई यो चलचित्रले आफ्नो विषय बनाएको छ ।

वीर गणेशमान लाई विजयरत्न तुलाधर र सहजमान श्रेष्ठ मिलेर निर्देशन गरेका हुन् । यो चलचित्र २०६० साल कात्तिक ११ गते प्रदर्शन भएको थियो ।

०८० मा नेपाली कांग्रेसले आयोजना गरेको ‘बीपी साहित्य सम्मेलन, २०८०’मा पनि यो चलचित्र देखाइएको छ । जापान, अमेरिकालगायत देशमा पनि नेपालीमाझ यो चलचित्र ‘वीर गणेशमान’ देखाइएको थियो ।

‘वीर गणेशमान’को कार्यकारी निर्माता नवीन्द्र राज जोशी थिए । गणेशमान सिंह अध्ययन प्रतिष्ठानले लगानी गरेको थियो । ७० लाख रुपैयाँ लगात थियो ।

च्लचित्रको प्रमुख पात्र भैरबबहादुर क्षेत्री (प्रौढ गणेशमान सिंह), रामकृष्ण महर्जन (युवा गणेशमान सिंह), रन्जु श्रेष्ठ (युवा मंगलादेवी) र कान्ता सिंह (प्रौढ मंगलादेवी)को भूमिकामा थिए ।

गणेशमान सिंहको जीवनीमा आधारित यो चलचित्रको निर्माण आरम्भ विसं २०५२ साल कात्तिक ११ गते उनको जन्मोत्सवको दिन भएको थियो । पाँच वर्ष अध्ययन अनुसन्धानपछि विसं २०५८ मा छायांकन सुरु भएको थियो ।

शुरुमा गणेशमान सिंहको अनुहार मिल्दो कलाकार पाउन नसक्दा ललितपुर जिल्लाका पूर्वमेयर बेखारत्न शाक्यलाई मेकपको माध्यमबाट गणेशमान सिंहको रुपमा ढाल्ने प्रयास गरिएको थियो । त्यसका लागि मेकप आर्टिस्ट विनोद श्रेष्ठ र कला निर्देशक निर्जल श्रेष्ठ भारतको चलचित्र नगरी मुम्बई गएर लेटेक्स मास्क मेकप प्रविधि पनि सिकेर आएका थिए ।

यतिकैमा गणेशमान सिंह चलचित्र बन्ने खबर फैलिसकेको थियो भने मिल्दो कलाकार चयन गर्ने कोसिसमा रहेको कुरा पनि यत्रतत्र फैलिसकेको थियो । यही कुरा थाहा पाएर अभिनेता पुरन जोशीले विजयरत्नलाई फोन गरेर उनको चाबहिल मैजु बहाल तिरभैरब बहादुर क्षेत्रीबारे जानकारी दिएका थिए ।

उनको अनुहार गणेशमानसित दुरुस्तै मिल्ने रहेछ । तर फिल्ममा अभिनय गर्न मानेनन् । उनलाई मनाउन अलि कठिन भएको थियो । त्यो रोलको लागि कलाकार नारद खतिवडाले डबिंग गरिदिएका थिए ।

तर यो चलचित्र तयार भएर रिलिज गर्ने बेला हलहरुले नेपाली फिल्म बहिष्कार गरिरहेका थिए । तर, यही फिल्मबाट नै आन्दोलन तोडियो । विश्वज्योति हलमा लगातार ४५ दिन प्रदर्शन प्रदर्शन भयो ।