चलचित्र ‘परान’को गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक

काठमाडौं । कात्तिक १४ देखि प्रदर्शनमा आउने चलचित्र ‘परान’को नयाँ गीत ‘ओइ भन्दानी बोलेन’ सार्वजनिक गरिएको छ ।

कलाकार दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको चलचित्रको गीत आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

विवाहको माहोलमा सेट गरिएको यस गीतको भिडियोमा चलचित्रका कलाकारहरू मदनकृष्ण श्रेष्ठ, नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, प्रविण खतिवडा, अञ्जना बराईली लगायतलाई फिचर गरिएको छ ।

सुनिल क्षेत्रीको कोरियोग्राफीमा तयार पारिएको यो गीतको भिडियोमा कलाकारहरुले आकर्षक नृत्य गरेका छन्, जसले दर्शकलाई पनि नचाउन प्रेरित गर्नेछ।

‘ओइ भन्दानी बोलेन’ गीतमा पाँच जना गायक-गायिकाको आवाज रहेको छ । जसमा प्रमोद खरेल, यमन श्रेष्ठ, रिदम कंडेल, रचना रिमाल र सलिना बि.के.ले स्वर सुन्न सकिन्छ ।

यस गीतको शब्द निर्देशक आचार्य र अनिश अधिकारीले लेखेका हुन् भने संगीत संयोजन रिदम कंडेलले गरेका छन् ।

बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको ‘परान’ गोल्छा समूह र प्रिज्मा समूहको सहकार्यमा बनेको हो ।

यस चलचित्रका निर्माता शेखर गोल्छा र रञ्जित आचार्य हुन् । सिनेमाको कथा दीपक आचार्यले लेखेका हुन् भने पटकथा तथा संवाद यम थापाले तयार पारेका छन् ।

चलचित्रमा शिवराम श्रेष्ठको छायाकंन र मित्र डी. गुरूङको सम्पादन रहेको छ ।

चलचित्रको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ले मुख्य सन्देशलाई प्रतिनिधित्व गर्छ । जसमा भावनात्मक पक्ष बलियो रहेको र सम्बन्धहरूको गहिराइलाई केलाएको बताइएको छ ।