‘मैझारो’को गीत ‘तिमीलाई के थाहा सानु’ सार्वजनिक

काठमाडौं । हास्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा)को डेब्यु निर्देशकिय चलचित्र ‘मैझारो’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले सोमबार बडादसैंको फुलपातीको अवसर पारेर ‘तिमीलाई के थाहा सानु’ बोलको गीत रिलिज गरेको हो ।

कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने चलचित्रको गीतमा अनमोल गुरुङ र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ भने शब्द, संगीत गायक अनमोलकै छ । गीतको एरेन्ज भने रिकेश गुरुङको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार धिरज मगर र मिरुना मगरको अभिनय रहेको छ । जहाँ मिरुना र धिरज प्रेमिल जोडीका रुपमा प्रस्तुत छन् । गीतमा सिनेमाको कथा अनुसार नै मिलाइएको निर्माण पक्षको भनाई छ ।

यो चलचित्रमा धिरज, मिरुनाका साथमा दिया पुन,बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बु लगायतका कलाकारको अभिनय समावेश छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र ‘मैझारो’ निर्देशक राईकै कथामा निर्माण भएको हो ।

‘तक्मे प्रोडक्सन’ को ब्यानरमा निर्माण भएको चलचित्रका गीतमा अनमोल गुरुङ र तोरेम्पाहाङ राईले संगीत भरेका छन् । गायनमा राजेशपायल राई, झुमा लिम्बू ,मेलिना राई, अस्मिता अधिकारी लगायतको रहेको छ ।

चलचित्रमा मित्र डी गुरुङको सम्पादन र सौरभ लामाको छायांकन छ । यो सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ ।