अरु दुई चलचित्रलाई पछि पार्दै सबैभन्दा अगाडि ‘हरिबहादुरको जुत्ता’

काठमाडौं । दसैँको अवसर पारेर रिलिज भएका तीन नेपाली चलचित्र अहिले चलिरहेका छन् । ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ चलिरहेका हुन् ।

तीनवटै नेपाली चलचित्रले उत्साहप्रद व्यापार गरिरहेका छन् । यी तीनमध्ये अहिले सबैभन्दा धेरै शो ‘हरिबहादुरको जुत्ता’ले पाएको छ ।

सुरुमा हलहरूले शो बाँडफाँट गर्दा सबैभन्दा धेरै शो ‘बलिदान’ले पाएको थियो । अरु दुईभन्दा यो सिनेमाले निकै धेरै शो पाएको थियो । दोस्रो स्थानमा ‘माइतीघर’ थियो । थोरै शोले पछि पर्दै तेस्रो स्थानमा ‘हरिबहादुरको जुत्ता’ थियो ।

तर, बलियो वर्ड अफ माउथले अवस्था उल्टियो अहिले सबैभन्दा अगाडि ‘हरिबहादुरको जुत्ता’ आइपुगेको छ ।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ‘हरिबहादुरको जुत्ता’ले सबैभन्दा धेरै शो होल्ड गरेको छ ।

क्यूएफएक्सका काठमाडौं उपत्यकाका आउटलेटमा आज ‘हरिबहादुरको जुत्ता’ले सबैभन्दा धेरै १५ शो पाएको छ ।

‘बलिदान’ र ‘माइतीघर’ले समान १२/१२ शो पाएका छन् ।

‘हरिबहादुरको जुत्ता’मा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् । यो चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।

चलचित्र ‘माइतीघर’लाई मिलन तामाङले निर्देशन गरेका छन् । यो चलचित्रमा धिरज मगर, केदार घिमिरे, उपासना सिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।

‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् । समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन मुख्य भूमिकामा छन् ।