‘मालती मंगले’को छायाकंन सम्पन्न

काठमाडौं । चलचित्र ‘मालती मंगले’ को छायांकन सम्पन्न भएको छ । तनहुँ र स्याङ्जाका विभिन्न रमणीय स्थानहरूमा ३१ दिन लगाएर यस चलचित्रको छायांकन पूरा भएको कार्यकारी निर्माता सागर ज्ञवालीले जानकारी दिए ।
चलचित्रको छायांकन सुरु गर्नुअघि गत महिना काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा शुभ मुहूर्त गरिएको थियो । उक्त अवसरमा लोकप्रिय गायक तथा चलचित्रका निर्माता रामकृष्ण ढकालका पिता गोपाल कर्माचार्यले पहिलो क्ल्याप दिएका थिए भने अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्यको अभिनय गर्दै छायांकनको शुभारम्भ गरेका थिए ।
रानी म्युजिक इन्टरनेशनल प्रा.लि. को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको यस चलचित्रका निर्माता रामकृष्ण ढकाल हुन् । सह-निर्माताहरूमा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ र स्वीकृति बस्नेत रहेका छन् ।
निर्माता ढकालले चलचित्रले स्तरीय र समाजसँग जोडिने भावनात्मक कथावस्तु प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गर्दै दर्शकलाई आत्मीयतासहितको पारिवारिक प्रेमकथा दिने बताएका छन् । चलचित्रको निर्देशन प्रकु पाण्डेयले गरेका हुन्, जसको कथा स्वयं उनले नै लेखेका हुन् । पटकथा तथा संवादको जिम्मा गुरागाईँले सम्हालेका छन् ।
‘मालती मंगले’ मा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन् । साथै, सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टराई लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
पोस्ट–प्रोडक्सनका कामहरूलाई तीव्रता दिने तयारी गरेको यस चलचित्रमा महेश पौडेलको छायाकंन, रोमी तण्डुकारको सम्पादन रहने छ ।