चलचित्रको मेरुदण्ड कथा हो, बलियो विषय र कुशल प्रस्तुतिमा ध्यान देऊ

चलचित्र सधैँ बलियो विषय, कुशल प्रस्तुति र राम्रो अभिनयले चल्छन् । त्यसबाहेकका विषय तपसिलका हुन् । चलचित्रको प्रचारप्रसार हुनै पर्छ । प्रचारप्रसारले नै हाइप बनाउने र दर्शकमाझ सिनेमा आउँदैछ भन्ने जानकारी दिने हो । यसले नै इनिसियल बिजनेस राम्रो हुने हो ।
तर, प्रचारमात्रै भएर हुँदैन । सबैभन्दा पहिला ध्यान विषय छनोट र मेकिङमा नै दिनुपर्छ । जबसम्म यी दुई पक्ष बलियो हुँदैन बाँकी पक्ष बलियो भए पनि त्यसको प्रभावकारिता धेरै देखिँदैन ।
कुनै एउटा पक्षमा मात्रै मेहनत गरेर चलचित्र सफल हुँदैन । सिनेमाका सबै पक्षलाई सँगसँगै अगाडि बढाउनुपर्छ । हरेक पक्षमा मेहनत र कुशलता प्रस्तुत भएको चलचित्र मात्रै राम्रो हुन्छ ।
चलचित्र मेरुदण्ड कथा नै हो । कथा अनुसारको स्क्रिनप्ले र अभिनय भएपछि चलचित्र राम्रो बन्छ । दर्शकले मन पराउँछन् । चलचित्र राम्रो भएपछि पब्लिसिटी पनि अवश्य चाहिन्छ ।
तर, पब्लिसिटी मात्रै भएर पनि हुँदैन । पब्लिसिटीले हाइप बनेर इनिसियल व्यापार भए पनि त्यसपछि सिनेमाको बिजनेस ओरालो लाग्छ । तर, चलचित्र राम्रो छ भने कमजोर पब्लिसिटी भए पनि वर्ड अफ माउथ राम्रो हुँदा चलचित्रको व्यापार बढ्दै जान्छ । इनिसियल डेजमा भन्दा पछिल्ला दिनहरूमा व्यापार राम्रो गर्छ । तर, चलचित्र राम्रो बनाएर पनि पब्लिसिटी राम्रो गर्न सकेन भने इनिसियल बिजनेस भने राम्रो हुँदैन । यसको मार निर्माताले बेहोर्नुपर्छ ।
चलचित्र सामुहिक कार्य हो । यसका रहेक विधामा उत्तिकै मेहनत नगरेसम्म सिनेमा राम्रो बन्दैन र चल्दैन । कथा छनोटदेखि कलाकारको कास्टिङसम्म र मेकिङदेखि पब्लिसिटीसम्म सबै पक्षमा गरिने मिहिन मेहनतले मात्रै दर्शकको मन जित्न सकिन्छ ।
चलचित्र हल्लाले, विवादले, इमोस्नल ब्ल्याकमेल र फण्डाले चल्दैन । एकाध दिन र शोमा यी उपायले केही काम गरे पनि चलचित्र चल्न बलियो कथावस्तु र प्रस्तुति चाहिन्छ, अन्य कुरा गौण हुन् । त्यसैले नेपाली चलचित्रका मेकरले सिनेमाको इलिमेन्टभन्दा बाहिरका विषयमा केन्द्रित हुनुभन्दा यसभित्र आफूलाई समर्पित गर्नुपर्छ ।