‘बलिदान’प्रति समीर भट्ट स्वयंको प्रतिक्रिया के छ, कलेक्सन रिपोर्ट सार्वजनिकप्रति आपत्ति ?

काठमाडौं । चलचित्र ‘बलिदान’ लामो समय चल्ने यसका मुख्य कलाकार समीर भट्टले बताएका छन् । दर्शकले दिएको प्रतिक्रिया हेर्दा ‘बलिदान’ लामो समय चल्ने उनले बताएका हुन् ।
उनले सिनेमाको प्रतिक्रियाले आफू उत्साही भएको बताएका छन् । सिनेमाको प्रतिक्रिया कस्तो छ भन्दा उनले प्रतिप्रश्न गर्दै भने, “तपाईं हलमा हुनुहुन्छ । तपाईंलाई दर्शकले के भनिरहनु भएको छ ?”
‘हलमा दर्शले राम्रो भनिरहनु भएको छ ।’ समीर भन्छन्, “हो, मेरो पनि प्रतिक्रिया त्यही हो, दर्शकले दिएको प्रतिक्रिया नै मेरो प्रतिक्रिया हो ।” उनले आफैँ भने ‘बलिदान’ रिलिजपछि केही भनेका छैनन् ।
‘बलिदान’को रिलिजको एक दिनअगाडि उनले एक साधारण युवक कसरी देश परिवर्तनको सम्बाहक बन्छ, त्यो भूमिका निर्वाहका लागि ‘बलिदान’ले प्रेरित गर्ने बताएका थिए ।
बक्सअफिस रिपोर्ट बोर्डबाट सार्वजनिक भएको प्रति उनले आपत्ति जनाएका छन् । चुनावमा हरेक एक भोटको महत्व भएजस्तै चलचित्रको बक्सअफिसमा पनि हरेक दिनको र हरेक शोको कलेक्सनको महत्व हुने बताए । त्यसैले एकैपटक रिपोर्ट सार्वजनिक गर्दा राम्रो हुने उनले बताए ।
यद्यपि, चलचित्र विकास बोर्ड यसमा सच्चिदै जानेमा उनी आशाबादी छन् । निर्माण टिमले बोर्डले ‘बलिदान’को ग्रसकलेक्सनको गलत रिपोर्ट सार्वजनिक गरेको भन्दै आपत्ति जनाउँदै आएको छ ।
चलचित्र ‘बलिदान’ फूलपातीको दिनदेखि प्रदर्शन भइरहेको छ । एक्सन ड्रामा ‘बलिदान’लाई सन्तोष सेनले निर्देशन गरेका छन् ।
समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन मुख्य भूमिकामा छन् ।