‘माइतीघर’को भिडियो प्रतियोगिताका विजेता घोषणा

काठमाडौं । दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘माइतीघर’ले आयोजना गरेको नृत्य प्रतियोगिताको विजेता घोषणा गरेको छ ।

निर्माण टिमले दर्शकमाझ अझ बढी उत्साह जगाउन चलचित्रको शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ मा आधारित एक भिडियो प्रतियोगिता आयोजना गरेको थियो । आईतवार यस प्रतियोगिताको विजेता घोषणा गरिएको हो ।

हजारभन्दा बढी प्रतियोगीहरूले यस गीतमा आफ्नो भिडियो तयार पारेका थिए । तीमध्येबाट दुई जनालाई विजेता घोषणा गरिएको र विजेताहरूको भिडियो चलचित्रमा नै समावेश गरिएको निर्माणपक्षले जानकारी गराएको छ ।

भारतीय गायिका सञ्जिवनीको स्वर रहेको चलचित्र ‘माइतीघर’को शीर्ष गीतका कोरियोग्राफर कविराज गहतराजले निर्णायकको भूमिका निर्वाह गर्दै विजेताहरूको छनोट गरेका हुन् ।

प्रतियोगिताका लागि ५ लाख नगद पुरस्कारको घोषणा गरिएको थियो । दुवै विजेता बुटवलका छन् ।

बुटवलका सुरज सिंजाली मगर र बुटवलको कालिकानगरस्थित नाश्री डान्स एकेडेमीका बालिकाहरूको समूहले बाजी मारेका हुन् । निर्माणपक्षका अनुसार दुवै प्रतियोगीले समान अंक प्राप्त गरेका कारण दुवैलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

“यसपटक सुरज सिंजाली र नाश्री डान्स एकेडेमीका बहिनीहरूको प्रतिस्पर्धा निकै नै कडा रह्यो । यसैले, निर्णायक गहतराजले दुवैलाई विजेता घोषणा गर्नुभएको छ । अब, हामी दुवै समूहलाई जनही साढे २ लाख रुपैयाँ पुरस्कार प्रदान गर्नेछौं,” निर्माता अधिकारीले भने ।

मिलन तामाङको निर्देशनमा बनेको यस चलचित्रमा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

प्रदर्शनको पहिलो दिनदेखि नै चलचित्रले पाएको बलियो ‘वर्ड अफ माउथ’ का कारण यसको व्यापार सुखद रुपमा अगाडि बढिरहेको छ, यद्यपि निर्माण पक्षले व्यापारिक आँकडा भने सार्वजनिक गरेको छैन ।