देशव्यापी रूपमा कस्तो चलिरहेको छ ‘बलिदान’ ?

काठमाडौं । गत १३ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘बलिदान’ले पहिलो हप्तामा दर्शकबाट साथ पाएको छ । सोमबार दोस्रो हप्तामा प्रवेश गर्न लागेको यो चलचित्र आइतबार (पहिलो साताको अन्तिम दिन) पनि देशभर करिब १ सय २० शोका साथ प्रदर्शनमा रहेको छ ।
वितरकहरूका अनुसार चलचित्रले काठमाडौंका हलहरूका साथै पश्चिम नेपालको धनगढीदेखि पूर्वी नेपालका हलहरूसम्म पनि राम्रो दर्शक पाइरहेको छ । प्राविधिक कारणले पोखराको मिडटाउन हलबाट हटेको ‘बलिदान’ फेरि प्रदर्शनमा आएको कुबेर सिने डिस्ट्रिब्युसनका पुष्कर घिमिरेले जानकारी दिए ।
देशको विषम परिस्थितिबीच रिलिज भए पनि चलचित्रको व्यापारबाट आफू सन्तुष्ट रहेको निर्देशक सन्तोष सेनले बताए। उनले व्यापारिक आँकडा एकमुस्ट रूपमा सार्वजनिक गर्ने तयारी रहेको जनाएका छन् ।
‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’को ब्यानरमा बनेको यस चलचित्रमा समीर भट्टका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।