वर्ड अफ माउथ : तेश्रो नम्बरबाट सर्वाधिक शो पाउने बन्याे ‘हरिबहादुरको जुत्ता’

काठमाडाैं । दशैँको फूलपातीबाट रिलिज भएको चलचित्र ‘हरिबहादुरको जुत्ता’लाई दर्शकको राम्रो साथ मिलेको छ । वर्ड अफ माउथ बलियो पाएको चलचित्र रिलिजको सुरुवाती दिनदेखि नै अधिकांश शो हाउसफुलका साथ प्रदर्शन भइरहेको छ ।

तीन नेपाली चलचित्र एकसाथ रिलिज भएको समयमा कम शो पाउने चलचित्रमा ‘हरिबहादुरको जुत्ता’ परेको थियो । सँगै रिलिज भएका नेपाली चलचित्रले २४४ र १४४ शो पाउँदा हरिबहादुरको जुत्ताले १३४ शो मात्र पाएको थियो । तर रिलिजको ७औं दिन आइपुग्दा तीन नेपाली चलचित्रमा सर्वाधिक शो पाउने चलचित्र बनेको छ ।

आज चलचित्र हलहरुले ‘हरिबहादुरको जुत्ता’लाई ११७ शो दिएका छन् । सँगै रिलिज भएका ‘बलिदान’ र ‘माइतिघर’ ले क्रमश १०७ र ७७ शो पाएका छन् । अधिकाश हलले सुरुवाती दिनमा सानो सिट क्षमताका सिट दिएका थिए भने अहिले ठुलो सिट क्षमताका हलमा चलचित्र सारेका छन् ।

भारतीय चलचित्र ‘कन्तारा’ले शो संख्यामा केहि प्रभाव पारे पनि रिलिजको पहिलो हप्तामा नै सँगै रिलिज भएका नेपाली चलचित्रको तुलनामा तेश्रो नम्बरबाट पहिलो नम्बरमा लगाएको छलांगले चलचित्रको वर्ड अफ माउथ कति बलियो रहेको छ बताइरहेको छ ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ ।