समीर भट्टले भने– एक वर्षमा एउटा सिनेमा गर्छु, अब बाउ–छोराको सिनेमा आउँछ

काठमाडौं । अहिलेका हटकेक समीर भट्टले वर्षको एउटाभन्दा बढी चलचित्रमा काम नगर्ने बताएका छन् । वर्षमा एउटा चलचित्रमा काम गर्ने तर त्यसलाई पूर्ण समय दिने उनले बताएका छन् ।
“म वर्षमा एउटा सिनेमामा काम गरौँ । तर, त्यसलाई पूरै एक वर्ष समय दिउँ भन्ने मेन्टालिटीमा छु,” समीर भन्छन्, “भोलि के हुन्छ, पछि के हुन्छ त्यो त अहिले थाहा हुने कुरा भएन । तर, अहिले म यही मेन्टालिटीमा छु ।”
एउटा सिनेमा रिलिज भइसकेपछि त्यसको प्रतिक्रिया लिएर अर्को सिनेमामा काम गर्ने योजना रहेको उनले बताएका छन् ।
समीरले अब होम प्रोडक्सनको सिनेमामा काम गर्ने बताए । “हाम्रो होम प्रोडक्सन छ । अब मेरो त्यही ब्यानरबाट सिनेमा आउँछ । अब बाउछोराकै सिनेमा आउँछ ।”
अर्को दसैँमा होम प्रोडक्सनबाट सिनेमा आउने सम्भावना रहेको बताएका उनले नयाँ वर्षमा पनि आउन सक्ने बताए ।
तर, अरु ब्यानरबाट आएका सिनेमाको स्क्रिप्ट भने सुन्न तयार रहेको उनले प्रष्ट पारे ।
“स्क्रिप्ट नै नसुन्ने भन्ने हुँदैन । म कलाकार हुँ, मलाई कसैले स्क्रिप्ट सुनाउने अधिकार उहाँहरूलाई छ । मलाई पनि अवश्य सुन्छु,” समीर भन्छन्, “सुन्दै नसुन्ने, अफर नै गर्न नहुने भन्ने छैन । स्क्रिप्ट राम्रो लागे ६ महिना पछि काम गरौँ भन्न पनि सकिन्छ ।”
तर, अहिले तत्काल भने आफ्नै अथवा बुवा विराज भट्टकै होम प्रोडक्सनको सिनेमामा काम गर्ने उनले प्रष्ट पारे ।
डेढ करोड पारिश्रमिक अफर गरेको बारे उनले आफूलाई थाहा नभएको बताए । “होला कसैले अरुसँग कुरा गरेको होला । तर, म सँग डाइरेक्ट कसैले कुरा गरेको छैन,” समीरले भने ।
समीर मुख्य भूमिकामा रहेको चलचित्र ‘बलिदान’ अहिले चलिरहेको छ । उनको पहिलो सिनेमा ‘१२ गाउँ’ गत वर्षको दसैँमा प्रदर्शन भएको थियो । जसमा विराज र उनी मुख्य भूमिकामा थिए । त्यही सिनेमाको सिक्वेल बनाउने तयारीमा बिराज छन् । यही सिनेमामा काम गर्ने र अबको पहिलो सिनेमा त्यही हुने समीरले बताएका हुन् ।