समीरले डेढ करोड पारिश्रमिक लिन थालेका हुन् ?

काठमाडौं । नायक समीर भट्टले कति पारिश्रमिक लिन्छन् भन्ने कुरा धेरैलाई कौतुहलता छ । पहिलो सिनेमा ‘१२ गाउँ’ सुपर हिट भएपछि पहिलो रोजाईको कलाकार बनेका उनले अभिनय गरेको चलचित्र ‘बलिदान’ यतिबेला प्रदर्शनमा छ ।

राम्रो हाइप बनाएको यो चलचित्र अहिले हलहरूमा प्रदर्शन भइरहेको छ । यो बीचमा उनलाई थुप्रै अफर आए पनि उनले हालसम्म कुनै पनि चलचित्रमा साइन गरेका छैनन् ।

उनलाई डेढ करोडसम्मको अफर आएको चलचित्र वृत्तमा हल्ला छ । के हो यसको वास्तविकता ? समीरले यसबारे बोलेका छन् ।

डेढ करोड पारिश्रमिक अफर गरेको बारे उनले आफूलाई थाहा नभएको बताएका छन् । “होला कसैले अरुसँग कुरा गरेको होला । तर, म सँग डाइरेक्ट कसैले कुरा गरेको छैन,” समीरले भने, “मेरो पारिश्रमिकबारे बाहिर अरुसँग यति दिने भन्ने कुरा भयो होला । तर, म सँगै यति दिन्छु भन्दै कोही डाइरेक्ट आएको छैन । यस्तै कसैले गरेको कुरा बाहिर सुन्नमा आएको होला ।”

तर, उनले प्रष्ट शब्दमा डेढ करोड लिन्न भनेनन् र अफर आएको चाहिँ होइन भनेनन् । डाइरेक्ड अफर नआएको मात्रै उनले प्रष्ट पारे ।

समीरले अब होम प्रोडक्सनकै सिनेमा गर्ने बताएका छन् । यसपछि मात्रै अरु सिनेमा गर्ने उनले प्रष्ट पारेका छन् । उनले वर्षमा एउटा मात्रै चलचित्रमा काम गर्ने बताएका छन् ।