क्याप्टेन विजय लामाले चलचित्र ‘बलिदान’ हेरेपछि के भने ?

काठमाडौं । क्याप्टेन विजय लामाले हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘बलिदान’हेरेपछि आफू प्रभावित भएको प्रतिक्रिया दिएका छन् । लामाले चलचित्रले नेपाली फिल्म उद्योगको स्तरलाई नयाँ उचाइमा पुर्याएको उल्लेख गर्दै यसलाई “फरक स्तरको चलचित्र” भनेर प्रशंसा गरेका छन् ।
सोमबार साँझ चलचित्र हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लामाले भने, “बलिदानमा मैले ठुलो बलिदानै पाएँ । यो चलचित्रसँग आबद्ध सबैको ठुलो योगदान देखेँ । यो फरक स्तरको चलचित्र हो । नेपाली चलचित्रको स्तर बढ्दै गएको छ भन्ने प्रमाण बलिदान हो ।”
निर्देशक सन्तोष सेनको कामको प्रशंसा गर्दै लामाले भने, “मेरो समयमा सन्तोष सेन आइदिएका भए म पनि समीर भट्टजस्तै एक्सन अभिनय गरिरहेको हुन्थेँ होला ।”
समीर भट्टको अभिनयबारे बोल्दै उनले समीर र उनका पिता बिराज भट्ट दुवैको योगदानलाई फरक समयमा महत्त्वपूर्ण रहेको बताए । “बिराज बिराज नै हो, समीर समीर नै हो । बिराजको समयमा बिराजको अधिपत्य थियो, अब समीरको पालो हो,” लामाले भने ।