तीन दिदीबहिनीले गीत गाएको एउटै चलचित्र कुन हो ?

काठमाडौं । नेपाली चलचित्रका केही यस्ता रेकर्ड छन्, जो निकै अनौठा छन् । कति रेकर्डकै लागि योजनाबद्ध तरिकाले बनाइएका रेकर्ड छन्, कति संयोगबस भएका रेकर्ड छन् ।
योजनाबद्ध हो वा संयोग मात्रै, त्यो त व्यक्ति स्वयंलाई थाहा होला तर चलचित्र ‘माइतीघर’का नाममा एउटा अनौठो संयोग छ । त्यो हो एकैघरका तीन दिदीबहिनीले एउटै चलचित्रको गीत गाएको रेकर्ड ।
पहिलो पटक एकै परिवारका तीन दिदिबहिनीले एकै चलचित्रमा स्वर दिएको चिलचित्र हो, ‘माइतीघर’ ।
‘माइतीघर’ विस. २०८२ सालमा बनेको चलचित्र होइन । वि.स. २०२३ पुस १ गते प्रदर्शनमा आएको चलचित्रका नाममा चाहिँ यो रेकर्ड रहेको छ ।
यो चलचित्रमा भारतीय संगीत क्षेत्रका लिजेन्ड गायिका त्रय आशा भोस्ले, लता मंगेश्कर र उषा मंगेश्करले यो चलचित्रको गीतमा स्वर भरेका छन् । यी तीन दिदीबहिनी एकै परिवारका हुन् ।
म.वि.वि. शाह अर्थात् तत्कालीन राजा महेन्द्र, प्रदीप रिमाल र किरण खरेलको शब्द रचना भारतीय संगीतकार जय देवको संगीतमा आशा भोस्ले, लता मंगेश्कर र उषा मंगेश्करले पार्श्व स्वर दिएका हुन् । महेन्द्रले लेखेको गीत लताले गाएकी थिइन् ।
‘माइतीघर’ निर्देशक वीएस थापाले पञ्चायतको बीचमा यो चलचित्र निर्देशन गरेका थिए ।
‘माइतीघर’ नेपालमा बनेको तेश्रो नेपाली चलचित्र हो । निजी क्षेत्रबाट लगानी गरी बनाइएको पहिलो चलचित्र हो । यो चलचित्रमा माला सिन्हा, सिपी लोहनीलगायत कलाकारले अभिनय गरेका छन् ।
यही चलचित्रको नामबाट काठमाडौंको माइतीघरको नाम रहेको हो । सुरुमा अहिलेको माइतीघर रहेको ठाउँलाई थापाथली भनिन्थ्यो ।
त्यहाँको एउटा घरमा चलचित्र ‘माइतीघर’को कार्यालय राखिएको थियो । जसमा चलचित्र ‘माइतीघर’को बोर्ड माइतीघर भनेर टाँसिएको थियो ।
त्यहीँ बसस्टप पनि थियो । बसको सहचालकले यात्रु ओराल्दा त्यही बोर्ड देखेर ‘माइतीघर’ भन्दै ओराल्न थालेपछि धेरैले ‘माइतीघर’ भन्न थाले । पछि त्यो ठाउँको नाम नै माइतीघर रह्यो ।