बक्सअफिस कलेक्सनमा ‘बलिदान’लाई पछ्याउँदै ‘हरिबहादुरको जुत्ता’, कसको कति छ कलेक्सन ?

काठमाडौं । दसैँको अवसर पारेर रिलिज भएका तीन नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।
चलचित्र विकास बोर्डले असोज १३ गते रिलिज भएका तीनवटा चलचित्रको आज आठ दिनको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।
रिपोर्ट अनुसार ‘बलिदान’ पहिलो स्थानमा छ । यसलाई ‘हरिबहादुरको जुत्ता’ले पछ्याइरहेको छ । तेस्रो स्थानमा ‘माइतीघर’ छ ।
‘बलिदान’ले आठ दिनमा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ । ‘हरिबहादुरको जुत्ता’ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ । ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको तथ्यांक छ ।
सुरुमा शो बाँडफाँटमा तेस्रो स्थानमा रहेको ‘हरिबहादुरको जुत्ता’ अहिले सबैभन्दा धेरै शो सहित चलिरहेको छ । यसमा हरिवंश आचार्य मुख्य भूमिकामा छन् । हरिवंशसँगै स्वस्तिमा खड्का र प्रकाश सपूत मुख्य भूमिकामा छन् । दीपेन्द्र के खनालले निर्देशन गरेका छन् ।
सन्तोष सेनले निर्देशन गरेको ‘बलिदान’मा समीर भट्ट मुख्य भूमिकामा छन् । समीरसँगै सौगात मल्ल, ऋचा शर्मा, हेमन्त बुढाथोकी र सन्तोष सेन मुख्य भूमिकामा छन् ।
मिलन तामाङले निर्देशन गरेको ‘माइतीघर’मा धिरज मगर, केदार घिमिरे, उपासना सिंह ठकुरी र प्रकाश सपूत मुख्य भूमिकामा छन् ।