दसैँका सिनेमाले गत वर्षको तुलनामा ६० प्रतिशत कलेक्सन गरे भने त्यो राम्रो हो : दयाहाङ

काठमाडौं । अभिनेता दयाहाङ राईले यो वर्षको बक्सअफिस कलेक्सन गत वर्षको जस्तो नदेखिनु स्वभाविक भएको कताएका छन् ।
आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘वरिष्ठ बलराम’को पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विपत्ति र आन्दोलनका कारण चलचित्रका हेर्ने वातावरण उत्साहप्रद नरहेको बताए ।
जेनजीको आन्दोलन र पछिल्लो प्राकृतिक विपत्तिका कारण गत वर्षहरूमा जस्तो सिनेमा हेर्ने उत्साह दर्शकमा नदेखिनु स्वभाविक भएको दयाहाङको भनाइ छ ।
गत वर्षको तुलनामा यो वर्षको दसैँमा ६० प्रतिशत बक्सअफिस कलेक्सन भयो भने त्यसलाई स्वभाविक मान्नुपर्ने उनको धारणा छ ।
“जेनजी आन्दोलन र पछिल्लो समयको प्राकृति विपत्तिमा कतिको परिवारको सदस्य खोसिएको छ, कतिको छिमेक टोलमा मान्छे गुमाएको अवस्था छ,” दयाहाङ भन्छन्, “यस्तो अवस्थामा सिनेमा हेर्ने माहोल गर्त वर्षको जस्तो छैन । म इमान्दारितका साथ भन्छु, गत वर्षको जस्तो यो समय हुँदैन । बक्सअफित गत वर्षको तुलनामा ६० प्रतिशत भयो भने त्यो एकदम राम्रो हो ।”
दसैँमा यसअघिका वर्षहरूमा जस्तो चलचित्र हेर्ने माहोल देखिएको छैन । यो वर्षको दसैँमा रिलिज भएका चलचित्रले ८ दिनमा ‘बलिदान’ ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ । ‘हरिबहादुरको जुत्ता’ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ र ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको चलचित्र विकास बोर्डले जनाएको छ ।