समीरको पहिलो सिनेमा ‘१२ गाउँ’ले पहिलो हप्ता कति कमाएको थियो ?

काठमाडौं । समीर भट्ट मुख्य भूमिकामा रहेको चलचित्र ‘बलिदान’ले आठ दिनमा तीन करोड ७५ लाख ग्रस कलेक्सन गरेको छ । यो चलचित्र विकास बोर्डले दिएको आधिकारिक रिपोर्ट हो ।
ठूलो हाइप बनाएको र शो पनि राम्रो पाएको ‘बलिदान’ले आठ दिनमा तीन करोड ७५ लाख ग्रस कलेक्सन गरेको हो । सुरुमा पाएको शो हाइप अनुसार यो अपेक्षित कलेक्सन होइन ।
समीरकै पहिलो अथवा डेब्यु चलचित्र ‘१२ गाउँ’सँगै तुलना गर्दा पनि यो कलेक्सनलाई अपेक्षित र आकर्षक मान्न सकिँदैन ।
‘१२ गाउँ’ले आफ्नो पहिलो हप्ताको बक्सअफिस ग्रस कलेक्सन १० करोड ५ लाख रुपैयाँको बताएको थियो । तर, यो रिपोर्ट वितरकले दिएका थिए, चलचित्र विकास बोर्डले होइन । सिंगल थिएटरको पनि कलेक्सन थियो ।
बोर्डले ‘बलिदान’को सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा सिंगल थिएटरको रिपोर्ट समावेश छैन । त्यसैले पौने चार करोडभन्दा केही माथि हुन्छ । दुई दिन अगाडि सन्तोष सेनले पाँच करोड कलेक्सन गरेको बताएका थिए ।
पहिलो साताको यी दुई सिनेमाको कलेक्सन हेर्ने हो भने दोब्बरभन्दा धेरै ‘बलिदान’को तुलनामा ‘१२ गाउँ’ले गरेको देखिन्छ ।
‘१२ गाउँ’मा विराज भट्ट र समीर भट्ट मुख्य भूमिकामा थिए । विराज भट्टले निर्देशन गरेका थिए ।
समीरको पहिलो सिनेमाको तुलनामा दोस्रो सिनेमा पहिलो हप्तामा ग्रसकलेक्सनमा निकै कमजोर देखिएको छ । तर, ‘बलिदान’लाई आफ्नो कलेक्सन बढाउने समय भने अझै पनि पर्याप्त छ ।