‘कान्तारा : च्याप्टर १’ ले सात दिनमै रच्यो इतिहास, भारतमा ३०० र विश्वभर ४५० करोड ग्रसकलेक्सन

काठमाडौं । दक्षिण भारतीय अभिनेता तथा निर्देशक ऋषभ शेट्टीले निर्देशन र अभिनय गरेको नयाँ फिल्म ‘कान्तारा : च्याप्टर १’ बक्स अफिसमा तहल्का मच्चाइरहेको छ ।
रिलिजको सातौं दिनमै फिल्मले भारतमा मात्रै ३ सय करोड भारु भन्दा बढी र विश्वभर ४ सय ५० करोड भारु भन्दा बढी कमाउँदै कन्नड सिनेमा इतिहासमा लेखेको हो ।
होम्बाले फिल्म्सको ब्यानरमा बनेको यो फिल्मले पहिलो दिनमै भारतमा करिब ६५ करोड भारु ग्रस कमाइ गरेको थियो । दोस्रो दिनमा उक्त रकम १०५ करोड भारु पुग्यो भने तेस्रो दिनसम्म पुग्दा विश्वभर २३५ करोड भारु ग्रस कमाएको रिपोर्ट सार्वजनिक भएको छ ।
चार दिनमै फिल्मले ३०० करोड भारु र छैठौं दिनमा ४०० करोड भारु क्लब प्रवेश गर्यो । सातौं दिनसम्म आइपुग्दा भारतमा यसको नेट कमाई ३१६ करोड र विश्वव्यापी कुल ग्रस ४५० करोड भारु नाघेको भारतीय सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
विश्वबजारमा पनि धमाकेदार प्रदर्शन
अमेरिका, युरोप, अष्ट्रेलिया, सिंगापुर लगायतका देशमा प्रदर्शनमा आएको ‘कान्तारा : च्याप्टर १’ले साउथ इन्डियन फिल्महरूको कमाइ रेकर्ड तोड्दै २०२५ को सर्वाधिक कमाइ गर्ने कन्नड चलचित्र बनेको छ ।
‘कान्तारा : च्याप्टर १’ ले‘केजीएफ च्याप्टर २’ पछिको सबैभन्दा ठूलो बक्स अफिस सफलता हासिल गरेको छ ।
‘कान्तारा : च्याप्टर १’ २०२२ मा प्रदर्शन भएको सुपरहिट फिल्म ‘कान्तारा’ को प्रीक्वेल हो । यस फिल्मले १७औं शताब्दीको तुलुनाडुको ग्रामीण क्षेत्रमा मनाइने दैव कोला प्रथाको पृष्ठभूमिमा आधारित कथा प्रस्तुत गर्छ ।
पञ्जुर्ली दैवाको कथामा केन्द्रित फिल्मको गहिरो सांस्कृतिक पक्ष, आकर्षक भिजुअल इफेक्ट, संगीत र सशक्त कथावस्तुले विश्वभरका दर्शकहरूको मन जितेको छ ।
यस फिल्ममा ऋषभ शेट्टी आफैं मुख्य भूमिकामा छन् । उनलाई गुलशन देवैया, रुक्मिणी वसन्त, जयराम र प्रमोद शेट्टी जस्ता कलाकारहरूले साथ दिएका छन् ।