बालेनविरुद्ध फैल्याइएका नकारात्मक कुराको प्रमाण माग्न निश्चलको सुझाव, भन्छन्– बालेन मेरो विश्वास हो

काठमाडौं । निर्देशक निश्चल बस्नेतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध विभिन्न आरोप लगाउनेसँग प्रमाण मागेका छन् । बालेनलाई मुद्दा हाल्छु भन्नेलाई प्रमाणित गरेर देखाए सँगै मुद्दा हाल्न आफू पनि जाने उनले बताएका छन् ।

“बालेनविरुद्ध फैलाइएका नकारात्मक कुराहरुको प्रमाण माग्नुहोला हल्ला फैलाउनेहरुसँग । प्रमाण भएसँगै जाउँला मुद्दा दर्ता गर्न । बालेनको देशप्रतिको माया उसको गीतका शब्द र फेसबुकमा मात्र नखोज्नुहोला,” निश्चल फेसबुकमा लेख्छन्, “बालेन आफू बद्नाम हुन तयार छ, तर देश बद्नाम हुने कुनै पनि तत्वसँग मिल्दैन । देशलाई माया गर्ने तपाईंहामी बीचकै मान्छे हो बालेन । मेरो विश्वास हो बालेन ।”

बालेनका बचाउमा उभिएका निश्चलले धरान उपमहानगरपालिका मेयर हर्क सम्पाङलाई भने अरूका कुरा नसुन्न सुझाव दिएका छन् ।

“प्रिय हर्क सर, तपाईंको लागि भोट माग्ने म पनि एक हुँ । तपाईंलाई माया गर्ने म पनि एक हुँ । देशमा जेनजीले ल्याएको परिवर्तन तपाईंजस्तो देशभक्त जनसेवकले सरकार चलाउनु हुन्छ र आउने पुस्तालाई देशको फेरिएको स्वरुप देखाउनुहुन्छ भनेर हो,” निश्चलले लेखेका छन्, “बिन्ति गर्छु, देश र सहिद भाइबहिनीहरु सम्झेर दुवैजना एक ठाउमा आइदिनुस् । अरुको कुरा सुनेर आवेग हैन, एक अर्काको कुरा सुनेर योजना बुन्नुस्, सुन्दर शान्त नेपालको ।”