अनमोल केसी बिरामी, ‘जेरी अन टप’ को ट्रेलर लन्चमा अनुपस्थित
काठमाडौं । अभिनेता अनमोल केसी ज्वरोका कारण बिरामी परेका छन् ।
बुबा तथा अभिनेता भुवन केसीका अनुसार केही दिनदेखि लगातार ज्वरोले सताएपछि अनमोल घरमै आराम गरिरहेका छन् ।
अनमोलको बिरामी स्वास्थ्यका कारण शुक्रबार राजधानीमा आयोजित चलचित्र ‘जेरी अन टप’ को ट्रेलर रिलिज कार्यक्रममा उनी सहभागी हुन सकेनन् ।
चलचित्रका मुख्य कलाकार अनुपस्थित भएपछि कार्यक्रममा उनको स्वास्थ्यलाभको कामना गरिएको थियो ।
अनमोलको स्वास्थ्य अवस्थाबारे जानकारी गराउँदै बिहीबार स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको बताए । अस्पतालबाट फर्केपछि पनि उनको ज्वरोमा कमी नआएको भुवनको भनाइ छ ।
आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘जेरी अन टप’ मा अनमोल केसीका साथै अभिनेत्री द्वय जसिता गुरूङ, आँचल शर्मा र हास्य कलाकार केदार घिमिरे (माग्ने बुढा)को शीर्ष भूमिका रहेको छ ।
अनन्या फिल्मस्को ब्यानर निर्माण भएको ‘जेरी अन टप’मालाई सुयोग गुरुङको निर्देशन गरेका हुन् । यो चलचित्रले विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने क्रमको प्रेमकथा प्रस्तुत गर्छ ।
हेमराज बिसीको कथा रहेको रोमाञ्चक रोड ट्रिप चलचित्रले अनमोललाई पुनः रोमान्टिक अवतारमा प्रस्तुत गर्ने बताइएको छ ।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार ‘जेरी अन टप’को निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानीमा साझेदारी गरेका छन् ।
अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मको कार्यकारी निर्माता रहेको चलचित्रको एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् ।
‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ । विस्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ ।
यो चलचित्रलाई रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण गर्दैछन् ।



