‘जेरी अन टप’मा आफ्नै बुवाको चुनौती फेस गर्दै अनमोल

काठमाडौं । चलचित्र ‘जेरी अन टप’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अनमोल उर्फ जेरीलाई दिइएको चुनौती र त्यसको इगो हट छ । इगोले सगरमाथा चढ्दै गरेको जेरी र खस्दै गर्दाको उसको क्रन्दन छ ।

ठूलो क्यानभास देखिएको ट्रेलरमा बाउको इज्जत र पावरको बलमा जिन्दगी बिताइरहेको जेरीलाई आफ्नै बाउले सधैँ औला समाएर हिँड्नुमा रमाउन छोडेर आफ्नै बलबुतामा जित्न चुनौती दिएपछि जेरीले इगो हट हुन्छ ।

त्यसपछि मनले खाएकी युवतीले आफूलाई सगरमाथाको आरोहण गर्नसक्ने सहासी युवक मात्रै मनपर्ने बताएपछि जेरी कस्सिन्छ, एभेरेष्ट अर्थात् सगरमाथा चढ्न ।

सगरमाथाको आरोहण सजिलो नरहेको जान्दाजान्दै र सुन्दासुन्दै जेरीले सुरु गर्छ, सगरमाथाको आरोहण । दर्जनौं आरोहीसँगै सगरमाथा उक्लिरहेको जेरीलाई जस्तो भनिएको थियो, त्यस्तै हुन्छ ।

आफ्नै अगाडि हिमपहिरो जान्छ, त्यसले सोहोरेर झार्छ । त्यहीबीच जेरीले आफूलाई बचाउन गरेको संघर्ष ट्रेलरमा देखिएको छ ।

सगरमाथासहितका दृश्यमा खिचिएको चलचित्रको ट्रेलरको क्यानभास, बेसक्याम्प, होटल, हेलिकोप्टरलगायतका दृश्य घतलाग्दा छन् ।

ट्रेलरमा अनमोल केसी, जसिता गुरुङ र आँचल शर्माको त्रिकोणात्मक प्रेम छ ।

सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल, आँचल र जसितासँगै केदार घिमिरे, भुवन केसी र उषा खड्गी प्रमुख भूमिकामा छन् । सुरक्षा पन्त विशेष भूमिकामा छिन् ।

चलचित्र ‘जेरी अन टप’ असोज ३१ गतेबाट प्रदर्शनमा आउनेछ ।