दशैँको बक्सअफिसले दिएको सन्देश– परिस्थितिको सही विश्लेषण गर

दशैँको अवसर पारेर रिलिज भएका तीन नेपाली चलचित्र ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ ।

चलचित्र विकास बोर्डले असोज १३ गते रिलिज भएका तीनवटा चलचित्रको आज आठ दिनको ग्रसकलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्ट अनुसार ‘बलिदान’ पहिलो स्थानमा छ । यसलाई ‘हरिबहादुरको जुत्ता’ले पछ्याइरहेको छ । तेस्रो स्थानमा ‘माइतीघर’ छ ।

‘बलिदान’ले आठ दिनमा ३ करोड ७५ लाख ५३ हजार २५१ रुपैयाँ कलेक्सन गरेको छ । ‘हरिबहादुरको जुत्ता’ले ३ करोड २१ लाख ७० हजार १६० रुपैयाँ कलेक्सन गरेको छ । ‘माइतीघर’ले २ करोड १३ लाख ६४ हजार ६९२ रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको तथ्यांक छ ।

यी तीनवटा चलचित्रको सबै कलेक्सन जोड्दा पनि १० करोड पुग्दैन । अघिल्लो वर्षको दशैँमा एक सातामा दुईवटा चलचित्र ‘१२ गाउँ’ र ‘छक्का पञ्जा–५’ दुवैले १०/१० करोड रुपैयाँ कलेक्सन गरेको थिए । गत वर्षको बक्सअफिससँग तुलना गरेर हेर्ने हो भने यसवर्षको बक्सअफिस दयनीय छ ।

ठूलो बजेटमा बनेका र मल्टिस्टारर सिनेमाको व्यापार कमजोर देखिएको छ । जबकी गतवर्ष दुईवटा सिनेमा मात्रै मल्टिस्टारर थिए । तर, गत वर्षको भन्दा यो वर्षको बक्सअफिस कमजोर देखिएको छ ।

यसको कारण अदुरदर्शी चलचित्र निर्माता, निर्देशक र वितरक हुन् । देशको माहोल कस्तो छ, सिनेमा हेर्ने माहोल छ कि छैन, सिनेमा हेर्ने मुडमा दर्शक छन् कि छैनन्, घरगाउँ र समाजमा के घटिरहेको छ भन्ने अवस्थालाई अनदेखा गर्दाको परिणाम हो यो वर्षको दशैँका चलचित्रको बक्सअफिस ।

जेनजी आन्दोलनका घर समाजका आफन्तले परिवारजन गुमाएका छन्, देशको सम्पत्ति नष्ट भएको छ, छिमेकमा कुटपिट र लुटपाट भएको छ, घरबास खरानी भएको छ, टोलसमाजमा भय, त्रास र पीडा छ । राजनीति अन्योलमा छ । देश अब कता जाँदैछ, आफ्ना सन्तानको भविष्य के हुने हो, कहाँ छ आर्थिक सुरक्षा भनेर आम नेपालीको दिमाग रिंगिरहेका बेला को छ खुसी ? चलचित्र त खुसी हुँदा हेर्न जाने होइन र ? चलचित्रकर्मी स्वयंले सिनेमा पहिला मनोरञ्जन हो, त्यसपछि बाँकी सूचना, शिक्षा, जिम्मेवारी, अथेन्टिसिटी भन्ने गरेको तथ्यलाई अनदेखा गर्दा बक्सअफिस कमजोर भयो ।

छेउको घरको शोक परेको छ, अर्को घरका सदस्य हुल बाँधेर सिनेमा हेर्न हलमा जान नैतिकताले पनि दिँदैन । यही कारण हो, बक्सअफिस कमजोर देखिएको ।

त्यसमाथि थपिएको प्राकृतिक विपत्ति त छँदैछ । बाढी र पहिरोले थप मानिसको ज्यान लियो । हजारौँलाई घरबारबिहीन बनायो । गाउँ गएका कति मान्छे निरन्तरको वर्षाले घरबाहिर निस्किन सकेनन् । कति सहर फर्किन सकेनन् । कति बीच बाटोमै अलपत्र परे । गाउँ र घरमै बिदा सकियो, यसले पनि बक्सअफिस यो वर्ष चम्किन सकेन ।

चलचित्रका दर्शक हाम्रै समाजभित्रमा मान्छे हुन्, उनीहरूले नै हेर्ने हो । त्यसैले समाजमा के भइरहेको छ भन्ने बुझेर रिलिज गर्ने गरौँ । दर्शकले सिनेमा पनि हेर्न पाउँछन्, निर्माताको लगानी पनि उठ्छ, रिलिजको सार्थकता पनि हुन्छ ।