दीपकसँग फेरि भिड्दै समीर र बिराज

काठमाडौं । नेपाली चलचित्र बजारमा चाडपर्वका समयलाई अब ‘गोल्डेन डेट’को रूपमा लिइन्छ । नयाँ वर्ष, दसैँ र तिहारजस्ता चाडहरू निर्माता–निर्देशकका लागि अत्यन्त लाभदायक मानिन्छन् । किनभने, यस्ता बेलामा दर्शक हलमा आकर्षित हुने भएकाले मध्यमस्तरका सिनेमाले समेत राम्रो व्यापार गर्न सक्ने सम्भावना रहन्छ ।

विशेषगरी, दसैँ र तिहार जस्ता चाडपर्वका बेला हलमा दर्शकको भीड बढ्ने भएकाले हलचल देखिन्छ । यी समयमा दर्शकको ओइरो लाग्ने भएका कारण निर्माता–निर्देशकहरू यी महत्त्वपूर्ण मितिहरूलाई कहिल्यै गुमाउन चाहँदैनन् ।

एक समय दसैँमा दर्शक चाडपर्वमा व्यस्त हुने भएकाले चलचित्र चल्दैन भन्ने गलत धारणा थियो, तर अहिले त्यो मान्यता पूरै उल्टिएको छ । दसैँ अहिले सिनेमा रिलिजका लागि सबैभन्दा ‘लाभदायक’ समयको रूपमा स्थापित भएको छ ।

पछिल्ला केही वर्षयता विशेषगरी दसैँको मिति सबैभन्दा ‘हट’ डेट बन्दै गए । यसको ज्वलन्त उदाहरणका रूपमा गएको वर्ष प्रदर्शन भएका तीन सिनेमा र हालै फूलपातीमा रिलिज भएका तीन चलचित्रलाई सम्झदा पुग्छ । यही कारण आगामी वर्ष विसं २०८३ को दसैँमा ठूलो भिड हुने संकेत देखिएको छ ।

मंगलवार मात्रै कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो चलचित्र अर्को वर्षको दसैँमा रिलिज हुने बताएका छन् । उनले अमेरिकाबाट आउँदो दसैँका लागि रिलिज लक गरेका हुन् ।

गिरीले आफ्नो नयाँ चलचित्र २०८३ को दसैँमा लिएर आउने बताएसँगै अर्का चल्तीका अभिनेता समीर भट्टले पनि आफ्नो सिनेमा आगामी वर्षको दसैँमै आउने बताएर माहोल तताइदिएका छन् ।

हालै आफू अभिनीत चलचित्र ‘बलिदान’को प्रचारका क्रममा दर्शकसँगको भेटघाटमा समीरले मिडियासँग कुरा गर्दै आगामी दसैँमा आउने र अहिले कुन फिल्म हो भनेर खुलाउन नमिल्ने, तर दसैँमा अवश्य आउने बताए ।

‘अर्को दसैँमा पनि हाम्रो सिनेमा आउँछ । कुन आउँछ थाहा छैन, पक्कै पनि आउँछ,’ समीरले भने ।

समीरको यो अभिव्यक्तिले दीपकराज गिरीको सफल ‘छक्का पञ्जा’ सिरिजको नयाँ भाग र समीर भट्टको ‘१२ गाउँ’ सिक्वेलबीच सिधा टक्कर हुने प्रबल सम्भावना देखाएको छ ।

गत वर्ष बक्सअफिसमा ‘१२ गाउँ’ले १९ करोड ९२ लाख र ‘छक्का पञ्जा-५’ले १५ करोड २० लाख ग्रस कलेक्सन गरेका थिए ।

यद्यपि, दसैँ आउन अझै केही महिना बाँकी र दुवै टिमका चलचित्रको आधिकारिक घोषणा हुन बाँकी छ । तर, सम्भावित यो भिडन्तले अहिले नै फिल्म बजारमा चर्चा र दर्शकको ध्यान खिचेको छ ।

भिडियो

https://www.facebook.com/share/r/1FUkrgW62a